काठमाडौं, १३ साउन–सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई कारागारबाट सरकारी भवनमा सारिएको छ ।

नेश्नल लिग फर डिमोक्रेसीका एक अधिकारीका अनुसार सोमबार राति नेत्री सुचीलाई उच्चस्तरीय परिसरमा सारिएको हो । उनले तल्लो सदनका सभामुख सभामुख ति खुन म्याटसँग भेटवार्ता पनि गरेकी छन् । उनले चीनका एसियाली मामिलासम्बन्धी विशेष दूत देङ सिजुआनलाई पनि भेट्ने सम्भावना रहेको ती अधिकारीले पुष्टि गरेका छन् । यसै महिना थाइल्याण्डका विदेशमन्त्रीले उनीसँग भेटवार्ता गरेका थिए ।

म्यान्मामा विकसित पछिल्लो घटक्रमबारे जानकार एक अर्का अधिकारीका अनुसार नेत्री सुचीलाई राजधानी नेपिटस्थित विशिष्ट व्यक्ति आवासमा उनलाई सारिएको छ । निर्वाचित नेत्री सुचीलाई अपदस्थ गरिएसँगै देशमा भड्केको हिंसामा परी तीन हजार आठ सयभन्दा बढीको मृत्यु भएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन् ।

हिरासतमा रहेकी ७८ वर्षीय नोबेल पुरस्कार विजेता सुचीको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त भएको छ । उनीमाथि भ्रष्टाचार, गैरकानूनीरूपमा वाकीटकी राखेको, कोरोना महामारीमा जारी गरिएका प्रतिबन्धको पालना नगरेकोलगायत आरोपमा ३३ वर्षको जेल सजाय सुनाइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *