संखुवासभा, १३ साउन–संखुवासभाको जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरोका बिरामी बढेका छन्। केही दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोको विरामीले अस्पताल खचाखच भरिएको छ।
भाइरल ज्वरोले बिरामीको संख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेपछि प्यासेज र हलमा राख्नुपर्ने बाध्यता भएको छ। समयमा भवन निर्माण सम्पन्न नहुँदा २०३३ सालमा स्थापना भएको पुरानो भवनमा जिल्ला अस्पताल सञ्चालन हुँदै आएको छ।
जिल्ला अस्पताल संखुवासभामा भाइरल ज्वरोका विरामी अत्यधिक बढेपछि शय्या अपुग भएर बाहिर प्यासेजमा समेत राखेर उपचार गर्नुपरेको अस्पताल प्रशासनले जनाएको छ।
अहिले जिल्ला अस्पतालमा आउने अधिकांश विरामी भाइरल ज्वरोका देखिएको जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीले बताए। सूचना अधिकारी खत्रीका अनुसार जेठ महिनायता डेङ्गुका ८० जना र भाइरल ज्वरोका तीन सय बिरामी भेटिएका छन्। जिल्ला अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी आउने गरेको उनको भनाइ छ।
सामान्य बिरामीलाई औषधि दिएर घर पठाउने गरिए पनि भाइरल ज्वरोका बिरामीलाई शय्यामा राख्नुपर्ने भएका कारण बिरामीलाई राख्ने पर्याप्त शय्या नहुँदा समस्या हुने गरेको बताए।
५० शय्या क्षमताको अस्पताल ठेक्का लागेको ५ वर्ष बित्दा समेत निर्माण सम्पन्न नभएपछि पुरानै भवनमा भएको १५ शय्यामा मात्र सञ्चालन गर्नुपर्ने बाध्यता छ।
भाइरल ज्वरोले संखुवासभाका सरकारी तथा निजी अस्पतालमा समेत बिरामीको संख्या बढेको छ। भाइरल ज्वरोले निजी अस्पताल मनकामना पोलिक्लिनिक अस्पताल तुम्लिङटार र गोपालभगत मेमोरियल अस्पतालमा समेत भाइरल ज्वरोका बिरामीको संख्या उत्तिकै रहेको पाइएको छ।
भाइरल ज्वरोले टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने, वाकवाकी लाग्ने र रुघाखोकी लाग्ने जस्ता समस्या हुने चिकित्सकको भनाइ छ।
