काठमाडौं, १६ साउन–नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका छन् । आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरु उच्च अदालत पुगेका हुन् ।

उनीहरूले जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन दर्ता गरेको रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । जिल्ला अदालतले अन्यायपूर्ण तरिकाले पुर्पक्षका लागि कारागार पठाएको उनीहरूको दाबी छ । यसअघि काठमाडौं जिल्ला अदालतले १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो ।

यो मुद्दामा त्यसबेला ललितपुरकी लक्ष्मी महर्जन ५ लाख र होटल व्यवसायी टंक गुरुङ १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । बाँकी १६ जनालाई केन्द्री कारागार सुन्धारामा चलान गरिएको छ । त्यसपछि यही प्रकरणमा पक्राउ परेका अभियुक्त केशव तुलाधर असार ३१ गते १५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई असार २८ गते पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलाशले थुनछेक बहसपछि उनीसँग १५ लाख धरौटी माग्ने आदेश दिएको थियो । तुलाधर न्युरोडको देगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत थिए । उक्त मुद्दाका प्रमुख अभियुक्तमध्ये एक सन्देश शर्मालाई उनले आर्थिक कारोबारमा सघाएका खुलेको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको संगठित ठगी प्रकराण्मा गत १० जेठमा जिल्ला सरकारी वकिल कार्यालयले भीआईपीहरुसहित ३० जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो । यो प्रकरणमा मुद्दा दायर गरेकामध्ये ११ जना अझै फरार छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *