काठमाण्डौं, २६ साउन–नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नु जरूरी रहेको बताएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले देशका प्रमुख कार्यकारी माथि नै प्रश्न उठिरहेका बेला उच्चस्तरीय आयोग गठन गरी निष्पक्ष छानबिन गर्नु आवश्यक रहेको बताए।

बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले विगतका आयोग जस्तो नभई बलियो र निष्पक्ष आयोग गठन गरी भ्रष्टाचारका सबै फाइलहरू खोल्नुपर्ने बताए। माओवादी लडाकु शिविर ९क्यान्टोन्मेन्ट० मा भएको घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने भट्टराईले बताए।

नेकपा ९एमाले०ले संसदमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु उसको अधिकारको विषय भएको उल्लेख गर्दै भट्टराईले भ्रष्टाचारका विषयमा माथिदेखि नै अनुसन्धानलाई अघि बढाउनुपर्ने बताए।

‘उच्चस्तरिय आयोग गठनका लागि संसदमा एमालेले उठाएको माग सैद्धान्तिक रूपले पनि ठिक छ, सबैलाई छानबिन गर्न सक्ने हैसियत भएको आयोग गठन गरेर सबै मुद्दाहरूको निष्पक्ष छानबिन गर्न जरूरी छ,’ भट्टराईले भने।

एउटा व्यक्तिलाई मात्रै कारबाही गरेर भ्रष्टाचार निर्मूल नहुने भन्दै त्यसका लागि संरचनागत ढंगले नै भ्रष्टाचार निर्मूल पार्नुपर्ने उनले बताए।

‘व्यक्ति-व्यक्तिलाई मात्रै कारबाही गरेर भ्रष्टाचार निर्मूल पार्न सम्भव हुँदैन, त्यसको लागि संरचनागत ढंगले नै लाग्नुपर्ने हुन्छ,’ उनले भने।

अध्यक्ष भट्टराईले ललिता निवास प्रकरणमा आफूमाथि पनि छानबिन हुन्छ भने आफू त्यसको लागि तयार रहेको बताए। ‘मेरो पालामा पनि एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन, त्यसमा पनि छानबिन हुन्छ भने म सहयोग गर्न तयार छु,’ उनले भने।

भट्टराईले आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन विषयहरू उछाल्ने र फाइलहरू खोल्ने गरिए पनि ठूला दलहरूबीच लाभका पदहरूमा भागबन्डा गरेर अनुसन्धान बीचमै सामसुम हुने गरेको बताए। भट्टराईले संविधान जारीपछि माओवादी आन्दोलनको कार्यभार पूरा भएकाले आफू त्यसभन्दा पनि अघि बढेको उल्लेख गर्दै मुलुकमा नयाँ र वैकल्पिक शक्तिको खाँचो पूरा गर्न नेसपा अघि बढेको बताए।

भट्टराईले सरकारले विवादित व्यक्ति ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्नु ठीक नभएको बताए। लुम्बिनीजस्तो पवित्र ठाउँमा पहिले नै विवादित पात्रलाई नियुक्त गरेर सरकारले राम्रो सन्देश नदिएको उनको भनाइ छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *