काठमाडौं, २७ साउन–जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार मनसनुको न्यूनचापीय रेखा नेपाल नजिकसँगै भारतको विहारको उत्तर पश्चिम भू–भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले अबका केही दिनसम्म मनसुनको न्यूनचापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ ।
महाशाखाले विशेष मनसुन बुलेटिन जारी गर्दै शनिबारदेखि सोमबारसम्म देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै, सहरी क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्नसक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आइतबार पनि देशभर पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ।
त्यसैगरी सोमबार देशभर सामान्यदेखि पूर्णतया बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
कोशी र बागमती प्रदेशको एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको विशेष मनसुन बुलेटिनमा उल्लेख छ।
