झिलझिले, २७ साउन–पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाम रमिते सेल्फी डाँडालाई आर्कषण गराउने कार्य जारी छ । यसैबीचमा सुनचाँदी व्यवसायी संघ शिवसताक्षी नगर समितिले सताक्षीधामको रमिते सेल्फी डाँडामा पक्की खानेपानीको धारा निर्माण गरेको छ ।
आगान्तुक आन्तरिक तथा वाह्य पर्यटकहरुको लागि तिर्खा मेट्न र स्थानिय व्यवसायीहरुलाई प्रयोग गर्न सहज होस् भन्ने हेतुले खाने पानीको धारा निर्माण गरिएको संघका उपाध्यक्ष रोमन लाम्गादेले बताए । धारा निर्माणको लागि १० हजार बढी खर्च भएको संघका सचीव हरिशंकर सिलवालले जानकारी दिए ।
नगरकै पर्यटन हबको रुपमा विकास भइरहेको रमिते सेल्फी डाँडामा केही टेवा पुगोस् भनेर सामाजिक उत्तरदायित्व बहन गर्दै धारा निर्माण गरिएको र आगमी दिनमा पनि सहकार्य गर्ने अध्यक्ष टेकबहादुर सिन्चिउरीको भनाई छ ।
सन्चारकर्मी डाइमण्ड कार्कीद्वारा निर्माण भइरहेको उक्त रमिते सेल्फी डाँडामा पर्यटकहरू विश्राम गर्नको लागि हाल दाताहरुको सहयोगमा विभिन्न डिजाइनको फलैंचा निर्माण सम्पन्न गरि रङ्ग रोगनको कार्य पनि सकिएको छ ।
झिलझिले बजारबाट करिब ४ किलोमिटर उत्तर तर्फ अवस्थित रतुवा माइ वृक्षारोपण आयोजनाको घना जङ्गल भित्र रहेको चुरे पहाड्को मनोरम दृश्य समेत देखिने यस क्षेत्रमा अहिले अन्तरिक तथा वाह्य पर्यटकहरुको घुँइचो लाग्ने गरेको छ ।
पर्यटनको उच्च सम्भावना रहेको यस क्षेत्रमा सखुवाको रुखमा रङ रोगन र फलैंचा निर्माण र खानेपानीको धारा जडानले गर्दा स्थानीय व्यवसायीहरुको समेत राम्रो व्यापार भएको व्यवसायीहरुको भनाइ छ । चुरे पहाड्को काखमा रहेको पूर्वकै रमणीय ऐतिहासिक धार्मिक तथा पर्यटन क्षेत्र सताक्षीधाम नजिकै रहेको यस क्षेत्रमा चरम गर्मीको मौसममा यहाँ पुग्ने जो कोहि पनि शितल हावा र मनोरम दृश्यले सबैको मन लोभ्याउने गर्दछ ।
करिब ४ महिना अघिदेखि यस क्षेत्रमा शृङ्गारको कार्य शुरु गरि हालसम्म २ किलो मिटर क्षेत्रमा सडकको दुबै तर्फको रुखमा रङरोगन गरिएको छ, त्यस्तै १२ वटा जति ठुला साना गरि फलैचा निर्माण गरिएको छ, २ वटा खानेपानीको धारा निर्माण, विभिन्न प्रजातिका फलफूल तथा फूलका बिरुवाहरु रोपण गरिनुका साथै डस्टविनसमेत रखिएको छ ।
अभियन्ता कार्कीको अनुसार अभियान निर्माणार्थ हालसम्म स्वादेश तथा विदेशमा कार्यरत नेपाली सहयोगी मनहरुबाट करिब ६ लाख बराबर नगद तथा जिन्सी सामाग्री प्राप्त भएको जानकारी दिए । अहिले श्रावण महिना भएकोले सताक्षीधाम दर्शन गर्न प्रत्येक सोमबार दर्शनार्थीहरुको घुईचो लाग्ने भएकोले पनि भक्तजनहरु रमिते सेल्फी डाँडामा पुग्ने गर्दछन । स्मरण रहोस अहिले सताक्षीधाम सम्मनै सडक कालोपत्रे भैसकेको छ ।
