विराटनगर, २७ साउन–नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २४ औं स्थापना दिवसको अवसरमा ६ जना सञ्चारकर्मी पुरस्कृत भएका छन् । विराटनगरमा शनिबार भएको फोनिजको स्थापना दिवसको अवसर पारेर ६ जना पत्रकार पुरस्कृत भएका हुन् ।
यसरी पुरस्कृत हुने सञ्चारकर्मीहरूमा किसन राई, देव पचभैया, जीवन लामा, उन्नति चौधरी, विदुर खवास र सुजता लिम्बू रहेका छन् ।
यस्तै, दिलीप थापा मगर र नेपाल भाषा टाइम्सलाई सम्मान गरिएको छ । सम्मानित र पुरस्कृत हुनेहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । पुरस्कृत भएका मध्ये खवास र लिम्बूलाई प्रदेशले सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै मन्त्री मोदीले पहिचान सहितको संघियता ल्याउन दुई तिहाइ आवश्यक रहेको बताए । त्यसको लागि दुई तिहाइ मत ल्याएर प्रदेशको नामकरण सच्याउनुपर्ने उनले बताए । त्यसकालागि पहिचानवादी पार्टीलाई जिताउनुपर्ने मन्त्री मोदीले बताए ।
उनले पहिचानको पक्षधरहरुको सदनमा बहुमत नभएकाले निर्णय कार्यान्वयन गराउन नसकेको बताए । पहिचानसहितको संघीयता ल्याउन माओवादीलाई जनमत प्राप्त नभएको उनले बताए । उनले प्रदेश १ को नामकरण पहिचानसहितको नामकरण हुनुपर्नेमा जोड दिए ।
पहिचानवादीको माग पुरा गर्नको लागि आदीवासी जनतजातिहरु एक जुट हुनुपर्ने उनले बताए । ‘आफ्नो माग पूरा गर्नको लागि आदिवासी जनजातिहरु एक जुट भएर आफ्नो अधिकार स्थापित गराउन लागि पर्नु पर्दछ,’ मन्त्री मोदीले भने ।
कार्यक्रममा आदिवासी जनजाति महासंघकी उपाध्यक्ष माया जिमी, किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, फोनिजका केन्द्रीय अध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलावल्ल्भ घिमिरे, प्रेस चौतारीका सचिब बिक्रम लुईटेल, प्रेस सेन्टरका उपाध्यक्ष बिवेक गौतम, समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य बन्धु पोखरेलगायलते बोलेका थिए ।
