दमक, २८ साउन–झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्धेश्यीय सहकारी संस्थाले २७औं बार्षिकोत्सव तथा २९औं साधारणसभा आजदेखि शुरु गरेको छ । साधारणसभा विभिन्न सात वटा इकाईमार्फत आजदेखि शुरु भई भदौ ३ गतेसम्म चल्ने र १२ गते प्रमाणीकरण गरि विधिवत साधारण सम्पन्न हुने संस्थाले जनाएको छ ।

आज (आइतबार) दमक सेवा कार्यालयको , २९ गते साउन उर्लावारी, ३० गते मिक्लाजुङ्ग, ३१ गते चुलाचुली र पथरी, ३२ गते बिर्तामोड, भदौ १ गते कन्काई, २ गते गौरादह र कमल र ३ गते लेटाङ्ग र बेलवारी सेवा कार्यालयमा साधारणसभा हुने छन् ।

इकाई अन्तर्गत १२ वटा सेवा कार्यालयका १५ हजार २ सय ५८ जना शेयर सदस्यहरुले सहभागिता जनाउने छन् । संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईका अनुसार साधारणसभा अन्तर्गत भदौ ११ गत विविध कार्यक्रम गरि बार्षिकोत्सव मनाईने छ ।

बार्षिकोत्सवमा अघिल्ला वर्ष झै यसवर्ष पनि रक्तदान तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए । साथै भदौ १२ गते रोयल पार्टी प्यालेसमा सम्मान,पुरस्कार वितरण तथा संस्थाको प्रतिवेदन उपर छलफल गरि प्रमाणीकरण गरिने कार्यक्रम रहेको छ ।

संस्थाको कार्ययोजना सार्वजनिक
संस्थाले पत्रकार सम्मेलनमार्फत संस्थाको बार्षिक गतिबिधि र आगामी कार्ययोजनाहरु समेत सार्वजनिक गरेको छ । आज विहान सदाका बर्षझै संस्थाले पत्रकार सम्मेलन गरि संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाले हालसम्मको गरेका बचत,ऋण तथा अन्य सामाजिक गतिविधिहरु प्रस्तुत गरेका थिए । उनले यो बर्ष सकेसम्म बाह्य कर्जा नलिने नीति लिएको समेत जानकारी दिए ।

उनले बाह्य कर्जाका कारण संस्थालाई पर्न सक्ने अप्ठ्यारोको महसुस यसपटकको आर्थिक मन्दीमा गरिएको बताउँदै गत आर्थिक बर्षमा १७ करोड ६० लाख रुपैयाँ बाह्यकर्जा घटाएको पनि उल्लेख गरे ।

संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाका सदस्यहरुको लामो अवधिको बचतलाई प्राथमिकता दिइने, यस बर्षलाई पनि अघिल्लो बर्षझैं बचत बृद्धिको बर्षका रुपमा सञ्चालन गरिने, सामुदायिक बिद्यालय, टोल बिकास संस्था र अन्य गैह्रनाफामुलक संस्थाहरुलाई सदस्यता दिई बचतमा सहभागी गराइने, यस बर्षदेखि मेघा बचत योजना र मेची पेन्सन बचत योजना अघि सारिएको पनि उल्लेख गरिएको छ ।

सहकारी आवास २ र उर्लाबारीमा रहेको संस्थाका नामको जग्गामा सहकारी बजार निर्माणको योजना पनि संस्थाले ल्याएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी
संस्थाको सञ्चार उपसमितिले आयोजना गरेको सो पत्रकार सम्मेलनमा संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले संस्थाको वित्तीय आँकडा प्रस्तुत गर्दै यो बर्ष संस्थाले १० करोड नाफा कमाउन सफल भएको जानकारी दिए । उनले आगामी बर्ष १६ करोड नाफा कमाउने लक्ष्य राखेको पनि जानकारी दिए । त्यस्तै २ हजार ७ सय ५० जना सदस्य संख्या थप गर्ने लक्ष्य राखिएको कार्यकारी प्रमुख थापाले जानकारी दिए ।

संस्थामा अघिल्लो बर्ष ३५ करोड ५५ लाख ७८ हजार रुपैयाँ शेयर पुँजी रहेकोमा १ करोड ९४ लाख ५ हजार रुपैयाँ गत आर्थिक बर्षमा थप भएको जानकारी दिइयो ।

संस्थाको अघिल्लो बर्ष २ अर्ब ८९ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी रहेकोमा १ करोड ९० लाख रुपैयाँ थप भई हाल ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी रहेको र ९९ प्रतिशत असल कर्जा रहेको संस्थाको दाबी छ । ४३ करोड ९५ लाख रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको यो संस्थाले गत आर्थिक बर्ष २०७९/०८० मा विभिन्न शीर्षकमा सरकारलाई २ करोड भन्दा बढी कर तिरेको पनि कार्यकारी प्रमुख बगालेले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *