दाङ, ३० साउन–नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करसँग आफ्नो कुनै पनि साँठगाँठ नभएको दाबी गरेका छन्।
दाङको घोराहीमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै महराले सुन प्रकरणमा आफूविरूद्ध सञ्चारमाध्यममा गलत अफवाह फैलाइएको जिकिर गरे।
‘बिनाकारण सुन प्रकरणमा मलाई सञ्चारमाध्यमले मुछिरहेका छन्,’ उनले भनेका थिए, ‘यसरी हुँदै नभएको कुरा गलत प्रचार गरिनु सही होइन।’
सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङलाई आफूले फलफूल व्यापारीको रूपमा मात्रै चिनेको र त्यही रूपमा मात्रै कुरा गरेको बताएका थिए।
फलफूल व्यापारीबाहेक वाङलाई अर्को रूपमा नचिनेको र उनीसँग सुनका बारेमा कहिल्यै फोनमा कुरा पनि नभएको भन्दै महराले आफ्नो बचाउ गरे।
आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन आग्रह गर्न वाङ आँफूकहाँ आएको भने महराले स्वीकारे।
सोही आधारमा आफूले भन्सारका कर्मचारीसँग कुरा गरेको र हेरेर कानुनअनुसार काम गर्न मात्रै आग्रह गरेको उनले बताए।
‘त्यो इलोक्ट्रोनिक चुरोटमा के थियो त्यो मलाई थाहा भएन,’ महराले भने, ‘उनी सुन तस्कर हुन् भन्ने कुरा पनि मलाई थाहा थिएन।’
आशंका लाग्छ भने सुन तस्कर प्रकरणमा राज्यलाई सघाउन आफू तयार रहेको पनि उनले बताए।
‘मैले पहिले नै अनुसन्धानमा सघाउँछु भनिसकेको छु,’ महराले भने, ‘अनुसन्धानका लागि बोलाउन भनि पनि सकेको छु, तर हालसम्म मलाई कसैले बोलाएको छैन।’
आफूमाथि मिथ्या आरोप सञ्चारमाध्यमहरूले लगाउन खोजेको भन्दै उनले गलत प्रचारबाजी नगर्न आग्रह गरे।
‘म सरकारलाई कुनै पनि छानबिनमा सघाउन तयार छु,’ उनले प्रश्न गरे, ‘यतिभन्दा मैले अरु के गर्नु पर्छ र ?’
