दमक, ३१ साउन–झापामा २० हजार बढीले आयुर्वेदिक उपचार सेवा लिएका छन् । जिल्लामा गत आव २०७९/०८० मा २० हजार छ सय ३० जनाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डा।अनिलकुमार यादवले जानकारी दिनुभयो ।
आयुर्वेदिक चिकित्सा पद्धतिप्रति बढ्दो विश्वास र सर्वसुलभ रुपमा सेवा पाइने भएपछि जिल्लामा आयुर्वेदिक उपचारप्रतिको सेवाग्राहीको आकर्षणसमेत बढेको उहाँको भनाइ छ । “अहिले मानिसहरु स्वास्थ्यप्रति धेरै सचेत हुन थालेका छन्”, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डा।अनिलकुमार यादवले भन्नुभयो, “आयुर्वेद उपचारप्रति मानिसको चासो क्रमशः बढिरहेको छ ।”
झापामा आर्थिक वर्ष २०७७/०७८ मा १७ हजार पाँच सय ९८ जनाले सेवा लिएका थिए भने आव २०७८/०७९ मा १७ हजार छ सय ६५ जनाले सेवा लिएका थिए ।
आयुर्वेद स्वास्थ्य केन्द्रमा ४० देखि ५० वर्ष र ६० वर्षदेखि माथिको उमेर समूहका बढी बिरामी उपचारका लागि आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक टेकनाथ अर्यालले बताउनुभयो ।
“नयाँ र पुराना बिरामीहरु नियमित चेकजाँच बिरामी आइरहनुभएको छ”, उहाँले भन्नुभयो, “आयुर्वेदिक उपचारबारे प्रचार–प्रसार अझै बढाउन जरुरी देखिन्छ ।”
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट ल्याब सेवा, फिजियो थेरापी, उपचारात्मक योग सेवा, जलौका ९लिच थेरापी०, पञ्चकर्म÷पूर्वकर्म लगायतका सेवा उपलब्ध छ । यहाँ ग्याष्ट्रिक, वाथ, उच्च रक्तचाप, मधुमेह, पायल्स, फिस्टुला, फिसर लगायतका बिरामी आउने गरेका छन् । चेकजाँच पछि उनीहरुलाई निःशुल्क औषधि उपलब्ध गराइन्छ ।
झापाका भारतीय सीमावर्ती बजारमा खुलेका क्लिनिकमा मोटो रकम खर्चेर पायल्स, फिस्टुलाको उपचार गर्नुपर्ने अवस्था समेत अन्त्य भएको छ । क्षारसुत्र विधिबाट रू पाँच हजारमै केन्द्रमा उक्त बिरामीको उपचार हुने गरेको छ । तर, जानकारीको कमी वा अविस्वासका कारण धेरै मानिस भारतीय सीमातर्वी बजारमा गएर भारु ४० हजारसम्म खर्चेर उपचार गर्ने गरेका छन् । कतिपय बिरामी निको नभएर केन्द्रमा आउने गरेको र सफल उपचार गरिएको कविराज निरीक्षक अर्याल बताउनुहुन्छ ।
केन्द्रमार्फत् यहाँका विद्यालयहरुमा आयुर्वेद तथा योग शिक्षा समेत प्रदान गर्ने गरिएको छ । गत वर्ष तीन वटा विद्यालयका विद्यार्थीलाई तीनदिने आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको केन्द्रले जनाएको छ ।
यस्तै, झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, हल्दिबारी र भद्रपुरका तीन सय ५८ स्तनपायी आमाहरुलाई मातृशिशु सुरक्षार्थ जडिबुटीजन्य औषधि वितरण गरिएको छ ।
यस्तै, ज्येष्ठ नागरिक कार्यक्रम अन्तरगत बिर्तामोड र कनकाईका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क औषधि वितरण र जिल्लाका छ वटा पालिका कनकाई, बिर्तामोड, दमक, गौरीगञ्ज, हल्दिबारी र कचनकवलमा नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिएको केन्द्रका कविराज निरीक्षण अर्यालले बताउनुभयो ।
झापामा आयुर्वेद उपचारप्रति सर्वसाधारणको आकर्षण बढे पनि पर्याप्त बजेट र पूर्वाधार नहुँदा प्रभावकारी रुपमा सेवा दिन नसकिएको कार्यालय प्रमुख डा। यादवले बताउनुभयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम चलाउन सकिने भए पनि पूर्वाधार अभावका कारण सकिएको छैन । त्यस्तै, दरबन्दी अनुसारको कर्मचारीको अभाव छ ।
कार्यालय प्रमुख डा। अनिलकुमार यादव र डा। सुरज पन्तले सेवा प्रवाह गरिरहनुभएको छ । सात जनाको स्थायी दरबन्दीमा तीन जनाको दरबन्दी खाली छ । हाल केन्द्रमा स्थायी र करारका गरी १३ जना कर्मचारीले सेवा दिइरहेका छन् ।
झापामा सरकारीस्तरमा आयुर्वेदिक चिकित्सा पद्धतिमा आधारित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र एक र सात वटा आयुर्वेद औषधालय छन् । जसले जिल्लाका विभिन्न स्थानमा सेवा प्रदान गरिरहेका छन् ।
