काठमाडौं, ३२ साउन–भदौको लागि ब्याजदर सार्वजनिक गरेका १४ वाणिज्य बैंकले ब्याजदर बढाएका छन्।
कुमारी, प्रभु, नेपाल एसबिआई, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, एनआइसी एशिया, लक्ष्मी सनराइज, सानिमा, कृषि विकास, सिटिजन्स, ग्लोबल आइएमई, एभरेष्ट र नेपाल बैंकले मुद्दती र साधारण बचतमध्ये कुनै न कुनै ब्याजदर बढाएका छन्। धेरैले मुद्दती निक्षेपको ब्याजदर नै बढाएका छन् भने केही साधारण बचतको ब्याजदर बढाएका छन्।
एनएमबी, प्राइम र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर घटाएका छन्।
गत महिना केही वाणिज्य बैंकले उच्च ब्याजदर दिँदा एक बैंकबाट अर्को बैंकमा ४३ अर्ब रूपैयाँसम्म खोसाखोस भएको बैंकरहरूले बताउँदै आएका छन्।
यही कारण धेरैले भदौमा ब्याजदर बढाएका छन्। ब्याजदर क्रमिक रूपमा घट्दै जाने बैंकरहरूको भनाइ विपरीत निक्षेप खोसाखोसले गर्दा ब्याजदर भने थप बढेको छ। केही बैंकहरू भने सरकारले स्थानीय तहमा रहेको कोषको रकम निक्षेपको रुपमा गणना गर्न पाइनेमा ढुक्क देखिँदै आएका थिए।
यस्तो अवस्था देखेका बैंकरूले ब्याजदर या त घटाएका छन् या स्थिर राखेका छन्। यसअघि स्थानीय तहमा रहेको कोषको रकम निक्षेपमा गणना गर्न बैंकहरूले पाइरहेको सुविधा गत साउनबाट हटाइएको थियो।
१४ मध्ये ९ वाणिज्य बैंकले मुद्दती र साधारण दुवैको ब्याजदर बढाएका छन्।
कृषि विकास, ग्लोबल आइएमई, सिटिजन्स, एभरेष्ट, सानिमा, कुमारी , प्रभु, राष्ट्रिय वाणिज्य र नेपाल बैंकले दुवै दर बढाएका हुन्।
यी ९ बैंकले साउनको लागि मुद्दतीमा ८।९९ प्रतिशतदेखि १०।१ प्रतिशतसम्म ब्याजदर तोकेका यी बैंकले भदौको लागि ९।५१ देखि १०।८९६ प्रतिशतसम्म तोकेका छन्।
एभरेष्ट, सानिमा, कृषि विकास र लक्ष्मी सनराज बैंकले भने मुद्दती निक्षेपमा यसअघिकै दरलाई तल्लो सीमा बनाएर माथिल्लो सीमा समेत राखेका हुन्।
साउनको लागि साधारण बचतमा ४।८५ प्रतिशतदेखि ८ प्रतिशत ब्याजदर तोकेका बैंकहरूले भदौको लागि भने न्यूनतम ४।९७ प्रतिशतदेखि ८ प्रतिशतसम्म नै तोकेका छन्।
नेपाल एसबीआई, नेपाल इन्भेष्टमेन्ट मेगा र माछापुच्छ्रे बैंकले भने साधारण बचतको दर मात्रै वृद्धि गरेका छन्। नबिल बैंक र हिमालयन बैंकले भने मुद्दती र साधारण बचत दुवैको ब्याजदर यथावत राखेका छन्।
