दमक, १ भदौं–किराँत जाति वा सम्प्रदायको मुन्धुम सम्बन्धी अध्ययन र एकीकृत गर्ने उदे्रश्यले स्थापना भएको किराँत मुन्धुम अध्यन केन्द्र नेपालले आज (शुक्रबार) झापाको दमकमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । दमकस्थित किराँत भवनमा आयोजित कार्यक्रममा सुनसरी, मोरङ, इलाम र झापाका किराँत मुन्धुम अध्ययन केन्द्रका प्रतिनिधिहरुको सहभागिता थियो ।
किरात सम्प्रदायको धार्मीक ग्रन्थलाई मुन्धुम भनिन्छ, किरात जाति धर्म, सभ्यता, संस्कृतिका बारेमा छलफल गर्न दमकमा कार्यक्रमको आयोजना गरिएको किरात मुन्धुम अध्ययन केन्द्रका केन्द्रिय सदस्य वसन्त दुमी राईले जानकारी दिनुभयो । कार्यक्रमको अध्यक्षतासमेत गनुर््भएका वसन्त दुमी राईले किरात मुन्धुम अध्ययन केन्द्रको काम, योजना, जिम्मेवारी लगायत र प्रदेश स्तरीय समितिका भावी योजनासहितका प्रस्तावहरु सार्वजनिक गर्नुभएको थियो ।
प्रस्तुत गरिएका प्रस्तावहरुमाथी सहभागिहरुले आ–आफ्ना धारणाहरु राखेका थिए । सहभागिहरुबीच छलफलमा भदौं ३० गते मोरङको सुन्दरहरैचास्थित गछियामा किरात मुन्धुम सम्बन्धी तयार पारिएको पुस्तकको लोकापर्ण गरिने र संस्थागत विकासका लागि अक्षयकोष स्थापना गर्न किरात मुन्धुम अध्ययन केन्द्रले एक छुट्टै समिति गठन गरी त्यसको रुपरेखा तथा खाका तयारी गर्ने निर्णय गरिएको सुनसरी–मोरङ समन्वय समितिका उपाध्यण्क्ष तथा युवा व्यवसायी चित्रवहादुर (सिवी) राईले बताउनुभयो । सिवी राईका अनुसार संस्थागत गतिविधीहरु प्रकाशन र प्रसारणका लागि किरात मुन्धुम अध्ययन केन्द्रले आफ्नै पत्रिका वा मुखपत्र छिट्टै ल्याउने पनि बताउनुभयो । सो मुखपत्रबाट प्रकशित विज्ञापनहरुले संस्थागत आर्थिक आय–आम्दानी हुन सक्ने र संस्थागत गतिविधीहरु बाहिर ल्याउन मद्यत पुग्ने वहाँले तर्क पेश गर्नुभयो ।
कार्यक्रममा किरात मुन्धुम अध्ययन केन्द्र नेपालकी केन्द्रिय कोषाध्यक्ष माया राईको प्रमुख आतिथ्यता थियो । सो अवसरमा प्रमुख अतिथी तथा केन्द्रिय कोषाध्यक्ष राईले मुन्धुम सम्बन्धी खोज अनुसन्धान र अध्यन गर्ने विषय भएकोले अहिले तत्कालै संस्थागत उपलब्धीहरु खोज्न नहुने बताउनुभयो । वहाँले छलफल, अन्तरकृया, गोष्ठी, भेटघाट, तालिम लगायका कार्यक्रमहरु सञ्चालन गर्दै किरात मुन्धुम अध्ययन केन्द्रलाई जिल्लास्तरीय र पालिकास्तरीय समितिहरु गठन गर्दै लैजान निर्देशन समेत दिनुभयो ।
किरात धर्मको मूल धार्मिक ग्रन्थ मुन्धुम हो, केन्द्रिय कोषाध्यक्ष राईले भन्नुभयो–मुन्धुम किरातीहरुको सिङ्गो इतिहास हो । सिङ्गो इतिहास बोकेको किरात मुन्धुम र किरातीहरुको बसोबास रहेको भूमिबीचमा के कस्तो ऐतिहासिक सम्बन्ध छ भन्नेबारे चर्चा वा छलफल गर्न आवश्यक छ ।
वहाँका अनुसार किरात परिचय किरात शब्द कुनै जात भूगोल रगत अनुहार वर्ण आकार वा समयको नाम होइन । किरात शब्दले सभ्यता संस्कृति जीवनपद्धति सोचाइ अवधारणा मूल्य–मान्यता र दर्शनलाई बुझाउँदछ । किरात शब्द एक समयमा विकसित भएको सभ्यता वा सोचाइको नाम हो, जीवनपद्धतिको नाम हो । आज जे–जति किराती भनेर कहलिँदै आएका जाति वा समुदाय छन्, ती जाति वा समुदाय भनेका त्यो सभ्यता सोचाइ वा जीवनपद्धतिहरु विकास गर्दै र अनुशरण गर्दै आइरहेका समुदाय हुन ।
सो कार्यक्रममा किरात मुन्धुम अध्ययन केन्द्र झापा अध्यक्ष रमेश राई, उपाध्यक्ष कमला थुलुङ राई, माङपा समितिका अध्यक्ष ढकप्रसाद राई, केन्द्रका सल्लाहकार गजरमान राई, ललित बुङताङ राई, शिबसताक्षी अध्यक्ष प्रेम दुमी राई लगायतले आ–आफ्ना धारणाहरु राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन किरात मुन्धुम अध्ययन केन्द्र सुनसरी–मोरङ समन्वय समितिका सहसचिव मुगाधन राईले गर्नुभएको थियो ।
