ललितपुर, ४ भदौं–धापाखेलस्थित नागदहमा सोमबार नागपञ्चमी मेला लागेको छ। साउन शुक्ल पञ्चमीका दिन लाग्ने मेलामा करिब ५० हजार दर्शनार्थीले अवलोकन गरेको नागपञ्चमी मेला मूल आयोजक समितिले जनाएको हो।
सोमबार मेलाको अवलोकन गर्न प्रतिनिधिसभा सदस्य प्रेम मर्हजन, बाग्मती प्रदेशसभा सदस्य रघुनाथ मर्हजन, ललितपुर महानगरका मेयर चिरिबाबु मर्हजन, महानगरभित्रका वडाका जनप्रतिनिधिहरु लगायत अन्य सरकारी कार्यलयका प्रतिनिधि पुगेका थिए।
नागपञ्चमी मेलाका लागि महानगरपालिकाको सांस्कृति र पर्यटन शाखाबाट साढे २ लाख आएको जनाइएको छ । मूल आयोजक समितिका संयोजक दिनेशजंग पाण्डेका अनुसार स्व पूजारी राम गिरीको घरबाट नाग दहमा पित्तलको नागको प्रतिमा नागदहमा ल्याएर पूजा गरिएको थियो । राती भएपछि बाजासहितको टोलीले फेरि स्व गिरीकै घरमा पुर्याइएको थियो।
नाग भगवानलाई रिझाए राम्रो हुने जनविश्वास अनुसार त्यहाँ वासुकी नागको पूजा गरिने गरिएको छ। मेला भर्न उपत्यका र त्यसआसपासका जिल्लाबाट भक्तजनहरु आइ दहमा स्नान गर्नुका साथै विभिन्न भाकल राखी पूजा गर्ने तथा दर्शन गर्ने चलन छ।
