विर्तामोड, ५ भदौं–नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले मंगलबार २४औं स्थापना दिवस मनाएको छ । बिर्तामोडको अतिथिसदनमा आयोजित स्थापना दिवस बिषेश कार्यक्रममा पहिचानकालागि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), जातीय संगठनहरु र फोनिजबीचको सहकार्य बिषयमा अन्तर संवाद समेत भएको थियो ।

फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति महासंघ र जातिय संगठनका नेताहरु तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघमा आवद्ध नेताहरुले पहिचानको मुद्धामा सबै आदिवासी जनजाति एक हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कमन देवानले नेपालमा ३५ सय आदिवासी जनजाति पत्रकारहरु फोनिजमा आवद्ध भएको बताउनुभयो । उहाँले ८ वटा मुलुकमा फोनिजले संगठन बिस्तार गरेको समेत जानकारी दिनुभयो । देवानले आदिवासी जनजातिको पहिचान रक्षाको सन्दर्भमा फोनिजले खेलेको भुमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो । उहाँले अहिले भइरहेको पहिचानको आन्दोलनमा फोनिज कर्मीहरुले स्प्रस्ट रुपमा पहिचानको पक्षमा कलम चलाउनु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रमका बिषेश अतिथि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का झापा जिल्ला अध्यक्ष पाण्डवलाल चौधरीले फोनिज र नेफिनबीच विभिन्न अन्तरसंवाद भइरहेपनि आवश्यक समन्वय भने हुन नसकीरहेको बताउनुभयो । उहाँले नेफिन फोनिजसंग सहकार्य गर्दै अघि बढ्न तत्पर रहेको धारणा राख्नुभयो । चौधरीले कोशी प्रदेश नाम खारेजीका लागी भइरेको आन्दोलनमा राजनैतिक दलहरुले अझैपनि विवेक पुर्याउन नसकेको बताउनुभयो । उहाँले राजनैतिक दलहरुलाई सच्चिन आग्रह गर्दै पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुको विकल्प नभएको बताउनुभयो । चौधरीले सबै पहिचान पक्षधरलाई एक जुट हुन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश समितिका महासचिव शुसन राईले पहिचान विरुद्धमा प्रदेशको नामकरण हुँदा मत हाल्ने सबै राजनैतिक दललाई एउटै आँखाले हेुर्नपर्ने धारणा राख्नुभयो । उहाँले ठुला दलहरुले पहिचान पक्षधरलाई वेवास्ता गर्दै गरिएको प्रदेशको नामकरण स्वीकार्य हुन नसक्ने बताउनुभयो । अहिले पहिचानको विरुद्ध मतदान गरेका केही राजनैतिक दलहरुले गल्ति भएको स्वीकार गरेपनि सदनमा भने पहिचानको पक्षमा आधिकारीक धारणा राख्न नसकेको बताउनुभयो ।

कार्यक्रममा फोनिज् (तत्कालिन अनिज) झापाका संस्थापक अध्यक्ष दिपिन राईले कार्यक्रमको बिषय तथा उदेश्य प्रस्ट पार्नुभएको थियो । उहाँले पहिचानकालागि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), जातीय संगठनहरु र फोनिजबिचको सहकार्यमा जोड दिदै अवको मार्ग तय गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश सदस्य बिष्णु सुब्बा, फोनिजका प्रदेश सल्लाहाकार अनिलदेव राई, किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक, किरात राई यायोख्खा जिल्ला सदस्य गौरिमान राई, फोनिज झापाका पूर्व अध्यक्ष इन्द्रजीत मुखिया, सल्लाहाकार राधा सुब्बा, तमु ह्युल धोज धी बिर्तामोड नगर अध्यक्ष सलबहादुर गुरुङ लगायतले धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष भिम नेम्वाङ्ग, फोनिज (तत्कालीन अनिज) झापाका संस्थापक सचिव इन्द्रसिंह राजवंशी, पूर्व अध्यक्षहरु रमेश समदर्शी राई, गणेशमान मुखिया, बिशाल नेम्बाङ्ग, नेपाल तामाङ घेदुङ झापा जिल्ला अध्यक्ष जगत तामाङ, आदिबासी जनजाति महासंघ बिर्तामोड नगर सचिव सन्तोष बेघा, बिर्तामोड नगरपालिकाका लेखा अधिकृत तेजेन्द्र तामाङ्ग, इन्जिनियर प्रभास थापा मगर, रोट्रयाक्ट क्ल्व बिर्तामोडका पूर्व प्रेसिडेन्ट राज मुखिया लगायतको उपस्तिथि रहेको थियो ।

फोनिज झापाका जिल्ला कार्य समिति सदस्य सुरेश आले (सर्जु) ले शब्दद्वारा स्वागत गर्नुभएको कार्यक्रमको संचालन फोनिजका जिल्ला सचिव तिलक योञ्जनले गर्नुभएको थियो ।

कार्यक्रममा फोनिज संघीय समितिद्वारा प्रकाशित नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्य नारायण बहादुर श्रेष्ठ बिशेष स्मारिका पुस्तक समेत बितरण गरिएको थियो ।

अक्षयकोषमा गायिका मेलिना राईद्वारा ५० हजार सहयोग

२४ औ स्थापना दिवसको अवसर पारेर चर्चित गायिका मेलिना राईले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अक्षयकोषका लागि रु ५० हजार सहयोग गर्नुभएको छ । फोनिज झापाले आज विर्तामोडमा आयोजना गरेको आफनो २४ औ स्थापना दिवस तथा अन्तरसंवाद कार्यक्रममा गायिका राईले उपलव्ध गराउनुभएको उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा अक्ष्यकोषका संयोजक गणेशमान मुखियालाई गायिका राईको तर्फबाट उहाँका आफन्त सुजन राईले चेक हस्तनान्तरण गर्नुभएको थियो ।

फोनिज झापाले आफना अग्रज पत्रकार स्व।डिकमान सुनुवार विरहीको स्मृतिमा स्थापना गरेको अक्षयकोषमा गायिका राईले रकम सहयोग गर्नुभएको हो । अक्षयकोषबाट प्राप्त हुने व्याजसहितको रकमले प्रत्येक वर्ष झापाली पत्रकारितामा योगदान पुर्याँएवापत एक जना पत्रकारलाई ‘स्व.डिकमान सुनुवार विरही स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिदै आएको फोनिज झापाकी अध्यक्ष भूमिका फियाक लिम्बुले बताउनुभयो । फोनिजले अब उक्त पुरस्कार प्रत्येक दुई बर्षमा बितरण गर्ने निणर्य गरेको समेत उहाँले जानकारी दिनुभयो । पुरस्कारको राशी समेत बृद्धी गर्ने निणर्य भएको उहाँले बताउनुभयो ।

फोनिज झापाले यसअघि प्रत्येक बर्ष २ जना नवदित पत्रकारहरुलाई उदयीमान पत्रकारीता पुरस्कार समेत प्रदान गर्दै आएको थियो । अब उक्त पुरस्कारलाई समेत प्रत्येक दुई बर्षमा बितरण गरिने बताईएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *