काठमाडौँ, ६ भदौं–नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले राज्यले प्रज्ञा प्रतिष्ठानका लागि विनियोजन गर्ने बजेट बढाउनुपर्ने माग गरेका छन्। संस्कृतिलाई एउटा प्राज्ञिक सत्ताको रूपमा विकास गर्न आवश्यक रहेको तथा प्रज्ञा र प्राज्ञहरूलाई उच्च सम्मान गर्नुपर्ने भए पनि सरकारले यसमा ध्यान नदिएको उनको गुनासो छ।
आज नेपाल प्रज्ञा प्रतिष्ठानको ४०औँ प्राज्ञ सभाको उद्घाटन गर्दै कुलपति राईले सरकारले प्रज्ञा प्रतिष्ठान र प्राज्ञहरूलाई सम्मान र मर्यादा नगरेको बताए। सरकारले संस्कृति र प्राज्ञिक फाँटलाई हेर्ने नजर फेर्नुपर्ने कुलपति राईको भनाइ छ।
राजनीति र राज्य सत्ताको बीचमा प्रज्ञा र प्राज्ञहरू परेको भए पनि यसलाई सुधार गर्दै जानुपर्नेमा उनले जोड दिए। प्रज्ञाका एघारै जना प्राज्ञहरू ज्ञान र विचारलाई विकेन्द्रीकरण गर्ने तथा भाषा र संस्कृतिको जर्गेना गर्न लागि परेको भए पनि बजेट अभावमा धेरै काम गर्न कठिन भएको कुलपति राइले बताए।
कुलपति राई, पूर्वकुलपति वैरागी काइँलालगायतले संयुक्त रूपमा उद्घाटन गरेको प्राज्ञ सभा आजै सकिएको छ। प्रज्ञालाई नयाँ युग अनुसार अब कसरी अगाडि बढाउने भन्ने बारेमा सभामा पर्याप्त रूपमा छलफल भएको कुलपति राईले बताए। प्रतिष्ठानको आगामी कार्यदिशा र नीतिका बारेमा समान धारणा बनाउँदै सभा सकिएको भए पनि निर्णयहरू भने भोलि मात्रै सार्वजनिक हुने छ।
यसअघि उद्घाटन कार्यक्रममा बोल्दै पुर्वकुलपति वैरागी काइँलाले विभिन्न भाषा र जातजातिका मौलिकता र संस्कृति बचाइराख्नका लागि प्रतिष्ठानले काम गर्नुपर्ने धारणा राखेका थिए। सबै भाषाभाषीको संरक्षण गर्दै काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। उद्घाटन कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल नाट्य प्रज्ञा प्रतिष्ठान, भाषा आयोगलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
समाज अन्वेषण जर्नल पनि सार्वजनिक
प्रज्ञा प्रतिष्ठानको ४०औँ प्राज्ञ सभाको उद्घाटनको अवसरमा आजै सामाजिक शास्त्र विभागको संयोजकत्वमा प्रकाशनमा आएको समाज अन्वेषण नामक जर्नल पनि सार्वजनिक गरिएको छ। प्रज्ञा प्रतिष्ठानका कुलपति राई, पुर्वकुलपति बैरागी काइँला, प्राज्ञ डा। कौशिला रिसाल तथा अन्य अतिथिहरूले संयुक्तरूपमा जर्नल सार्वजनिक गरेका हुन्।
बहुभाषिक, बहुसामाजिक, बहुसास्कृतिक नेपाली समाजको सामाजिक शास्त्रसम्बन्धी विषयमा अनुसन्धानमूलक अर्धवार्षिक जर्नल प्रकाशन गर्न सुरूवात गरिएको सामाजिक शास्त्र विभागका प्रमुख प्राज्ञ डा.कौशिला रिसालले जानकारी दिइन्।
सामाजिकशास्त्र सम्बन्धी विभिन्न विषयका विज्ञले यसमा लेखहरू लेख्न सक्ने छन्। डा.रिसालले यसबाट देशको बहुभाषिक, सांस्कृतिक तथा नेपालका समाज र संस्कृतिका हरेक पाटा उजागर गर्न थोरै भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
