झिलझिले, ७ भदौ–झापाको शिवसताक्षी–११ झिलझिलेस्थित इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक (इन्सपेक्टर) युवराज कटुवालमाथि आज (विहिबार) साँझ स्थानीय युवाहरुले धारिलो हतियार प्रहार गरि घाईते बनाएका छन् ।

शिवसताक्षी नगरपालिका वडा नं ९ दुधे नजिकै झरना खोलाको पुलनजिक मोटरसाइकलमा आएका तीन जनाले धारिलो हाते बन्चरो प्रहार गरि घाईते बनाएका हुन् ।

विहिबार साँझ ६ः ५० बजेको समयमा लागूऔषध ब्राउनसुगर सेवन गरिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा ईप्रका झिलझिलेबाट इन्सपेक्टर कटुवालको कमान्डमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले ३ जना सवार मे ४ प २७५१ न को मोटरसाइकल लापरबाही हिसाबले चलाएकोले रोकेर किन यसरी चलाएको भनी सोधपुछ गर्ने क्रममा मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने बर्ष ३६ का अशोक पोखरेलले अचानक लुकाई छिपाई ल्याएको हाते बन्चरोले कटुवालको टाउकोमा प्रहार गरेका थिए ।

कटुवालको टाउकोमा २ ठाउँमा चोट लागेपछि दुधे स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रिफर गरिएको छ । उनको अबस्था बोल्न सक्ने, मध्यम रहेको छ । टाउकोमा ८ टाँका र हातको औलामा ३ टाँका लगाइएको प्रहरीले जनाएको छ ।

आक्रमणमा संलग्न मोटरसाइकल चालक सोही ठाउँ बस्ने बर्ष–३२ का विकास भन्ने अरुण तामाङ र बीचमा सवार सोही ठाउँ बस्ने बर्ष ३३ का लक्ष्मण टुडू, बन्चरो हान्ने पोखरेलसहित ३ जना, मोटरसाइकल र बन्चरो नियन्त्रणमा लिई ईप्रका झिलझिलेमा ल्याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *