काठमाडौं, १२ भदौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सभामुख पद फाला फाल रहेको बताएका छन्।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले कोशीमा सभामुख पद फालाफाल रहेको बताए। उनले राप्रपाले चाहे कोशीमा मुख्यमन्त्री पाउने समेत दाबी गरे।
‘कोशीमा हामीले सभामुख मागिरहनु पर्दैन। कोशी प्रदेशको सभामुख त फालाफाल छ। सभामुख लिन कुनै सर्त राख्नै पर्दैन। सभामुख र मन्त्री हाम्रा लागि प्राथमिकताको विषय होइन। हामीले चाह्यौं भने सत्तापक्षबाट मुख्यमन्त्री पाउनसक्ने अवस्था छ। अहिलेको मुख्यमन्त्रीले राप्रपालाई मुख्यमन्त्री दिँदा पनि मानेन भन्नुभएको छ। हामीले सभामुख र एक मन्त्री लिएर गठबन्धनलाई सघाउने सर्त भएको छैन,’ उनले भने।
उनले संसदीय समितिमा आफूहरूले दलको संख्याका आधारमा समितिको नेतृत्व लिएको बताए।
‘प्रतिपक्षी दलको हैसियतले हामीले संसदीय समितिमा दलहरूको हैसियतअनुसार स्थान हुनुपर्छ भनेका थियौं। सोही अनुसार एउटा समिति पाएका छौं। हामीले एउटा समिति प्राप्त गर्नुलाई कुनै सर्तसँग गाँस्नु हो भने एमालेले तीन समिति पाएको छ। उसले अहिलेको गठबन्धनलाई के सघाउने सर्तमा त्यो प्राप्त गरेको होरुत्यसकारण दलको हैसियतअनुसार हामीले दाबी गरेका हौंं,’ उनले भने।
