दमक, १६ भदौं–नेपाल तेक्वान्दो संघ झापाले आज (शनिबार) दमकका प्रशिक्षार्थी खेलाडीहरुको ग्रेडिङ कार्य सम्पन्न गरेको छ । नेपाल सगरमाथा तेक्वान्दो दोजाङले दमकमा सञ्चालन गरिरहेको पाँच वटा विद्यालयका प्रशिक्षार्थी खेलाडीहरुको दमकस्थित सर्वोदय अंग्रेजी विद्यालयको प्राङ्गणमा ग्रेडिङ गरेको हो ।
दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी विद्यालय, दमक–ढ्क्रपानीस्थित अक्सफोर्ड अंग्रेजी विद्यालय, दमक–४ चिया बगानस्थित आस्था एकाडेमी, दमक–४ को पल एकाडेमी र दमक–२ खरखरेस्थित सनराइज अंग्रेजी विद्यालयमा प्रशिक्षण लिइरहेका खेलाडीहरुको ग्रेडिङ गरिएको हो ।
ग्रेडिङ कार्यक्रममा जिल्ला तेक्वान्दो संघ झापाका बरिष्ठ प्रशिक्षक जितेन्द्र मेचेसहित प्रशिक्षक कर्ण दाहाल, दीपेन्द्र दुनुवार, अजय गुप्ता, मिरा काफ्ले र मनु कटुवालले खेलाडीहरुको अनुशासन खेलप्रती रुची, खेल कौशलता, धर्यता, पोजिसन लगायतका बारेमा मुल्याङ्कन गरेका थिए ।
झण्डै एक सय ४० जना खेलाडीहरुको ब्लु बेल्ट, हाफ ब्लु, हाफ ग्रीन, हाफ एल्लो लगायतका विभिन्न तहगत रुपमा ग्रेडिङ गरिएको नेपाल सगरमाथा टेक्वान्दो दोजाङका अध्यक्ष जितबहादुर (जीतु) धिमालले जानकारी दिए । ग्रेडिङमा छनौट भएका खेलाडीहरुलाई आगामी बिजया दशमी तथा दिपावलीको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमसहित वेल्ट तथा पुरुस्कार प्रदान गरिने अध्यक्ष धिमालले बताए ।
कार्यक्रममा नेपाल सगरमाथा तेक्वान्दो दोजाङका उपाध्यक्ष तथा सर्वोदय अंग्रेजी विद्यालयका प्रिन्सिपल नविन योगी, विद्यालयका प्रिन्सिपल तथा शिक्षक प्रतिनिधिहरु र अभिभावहरुको बाक्लो उपस्थिति थियो ।
