पोखरा, १७ भदौं–अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ।

शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत पार्टी बलियो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको हो।

उहाँले पार्टीलाई बलियो बनाउँदै समाजवादी मोर्चालाई पनि गतिशील बनाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो,‘म हाम्रो पार्टीको कार्यकर्तालाई भन्न चाहन्छु। आफ्नो पार्टी पनि बलियो बनाउनुस्। समाजवादी मोर्चालाई पनि गतिशील बनाउनुस्।’

उहाँले एकीकृत समाजवादी माओवादीमा विलिन हुने प्रचार भएको भन्दै मन मिल्ने पार्टीहरुबीचमा एकता गर्न समाजवादी मोर्चाभित्र छलफल भइरहेको बताउनु भएको छ।

‘म सुन्ने गर्दछु, यो मोर्चा बनाएपछि यो पार्टीहरु विलिन हुनेछन्। हाम्रै पार्टीभित्र पनि कतिपयलाई लागेको छ, यो माओवादीमा विलिन हुने हो कि भनेर। अरु कसैलाई जनता समाजवादी पार्टीमा लागेको पनि होला। जताजता मिल्न मन लागेको छ, उहाँहरुलाई मिल्नमा हामी रोक लगाउँदैनौँ। तर हाम्रो पार्टीको कुरा हामी भन्नेछौँ।’ उहाँले भन्नुभयो।

उहाँले संगठनलाई गतिशील बनाउन र जनतामा जान मोर्चामा आवद्ध पार्टीका सबैलाई आग्रह गर्नुभयो। उहाँले आपसमा खुट्टा नतानी काम गर्न निर्देशन दिनुभयो।

उहाँले भन्नुभयो,‘प्रत्येक पार्टीलाई भन्न चाहन्छु, तपाईहरु आ–आफ्नो ठाउँमा जनताको माझमा जानुस्। संगठन गतिशील बनाउनुस्। जनतासँग जोडिनुस्। राम्रो काम गर्नुहोस्। राम्रो व्यवहार देखाउनुहोस्। असल आचरण देखाउनुहोस्। तपाईहरु असल नेता बन्नुहुनेछ।’

काम गर्नसके काम गर्न र काम गर्न नसके बाटो छोड्न पनि अध्यक्ष नेपालको आग्रह छ। ‘तपाईहरुलाई म भन्न चाहन्छु खुट्टा तान्ने होइन। यो अर्को पार्टीको मान्छेले काममा प्रभाव फैलाउन थाल्यो भनेर अन्तर्विरोध गराउने होइन। काम गर्नुस्। गर्नुहुन्न भने पन्छिनुस्। कि काम गर्नुस् कि बाटो छोड्नुहोस्।’ उहाँले भन्नभयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *