ललितपुर, १७ भदौं–म्यान्मासँगका दुईवटा अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि नेपाली टोलीको घोषणा भएको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार जनाएको छ।
नेपालले यही भाद्र २२ र २५ गते म्यान्माको याङ्गुनस्थित घरेलु मैदानमा २ वटा मैत्रीपूर्ण म्याच खेल्नेछ। किरणकुमार लिम्बूको कप्तानीमा रहने २३ सदस्यीय टोलीमा ३ जना गोलरक्षक, ६–६ जना रक्षापंक्ति र मध्यपंक्तिका खेलाडी र ८ जना अग्रपंक्तिका खेलाडी छन्।
नेपाली फुटबल टोलीले फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरूप म्यान्मासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
नेपाली टोलीका खेलाडी
गोलरक्षक – किरणकुमार लिम्बु (कप्तान), दीपक कार्की र अभिषेक बराल।
रक्षापंक्तिका खेलाडी – सनिष श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई र छिरिङ लामा।
मध्यपंक्तिका खेलाडी – एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिसरत्न चुन्जू।
अग्रपंक्तिका खेलाडी – आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनीष डाँगी, आशिष चौधरी, जिलेप्सीजंग कार्की, दिनेश हेनजान र हिसुब थपलिया।
प्रारम्भिक छनौटमा लाओससँग खेल्ने
आगामी असोजको अन्तिम साता नेपालले फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ को प्रारम्भिक चरणको छनौटमा लाओससँग प्रतिस्पर्धा गर्दै छ। पहिलो चरणको खेलमा नेपालसहित २० वटा देशले प्रतिस्पर्धा गर्दै छन्। १० वटा खेलबाट विजेता टोली अर्को चरणमा पुग्नेछन्।
नेपालले असोजको २५ गते लाओसविरुद्ध पहिलो लेग र ३० गते दोस्रो लेगको खेल हुने५। सो खेलमा नेपाल विजयी भए नेपालले अरू ९ वटा देश सहित अगाडि बाई पाएर अर्को चरणमा पुगेका थप २६ देशसँग खेल्नुपर्नेछ।
दोस्रो चरणमा पुगेका ३६ देशलाई ९ वटा समूहमा विभाजन गरी प्रत्येक समूहका विजेता र उपविजेता गरी १८ वटा देश विश्वकप छनौटको लागि अर्को चरणमा पुग्नेछन्।
तेस्रो चरणमा पुगेका १८ वटा देशलाई फेरि ३ समूहमा विभाजन गरिन्छ। त्यहाँ प्रत्येक समूहमा शीर्ष २ मा पर्ने ६ वटा देश विश्वकपका लागि सोझै छनौट हुनेछन्।
समूहमा तेस्रो र चौथो हुने ६ वटा देशबीच चौथो चरणमा प्रतिस्पर्धा हुनेछ। त्यसमा ३–३ वटा देशबीच २ वटा समूह हुनेछ। जसमा दुबै समूहका शीर्ष टिम फेरि विश्वकपका लागि छनौट हुनेछन्।
यी दुबै समूहका उपविजेता टोलीबीच पाँचौँ चरणमा प्रतिस्पर्धा हुनेछ। दुई लेग खेलपछि विजेता टिमले अन्तर कन्फडेरेसन प्लेअफ म्याच खेल्नेछ।
सो खेलमा विजयी हुने एशियाली टिम पनि विश्वकपमा छनौट हुनेछ। क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा गर्ने विश्वकपमा ३२ बाट बढाएर ४८ देशको सहभागिता हुनेछ।
