काठमाडौं, ३१ भदौं–नेपाल चिकित्सक संघले आइतबार (आज) देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।
मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालका दुई चिकित्सकमाथि गरिएको आक्रमणको विरोधमा संघले आज आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको हो ।
यही भदौ २७ गते डा। विकास थापा र डा। प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले शनिबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।
घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो । दोषीमाथि अझै कारबाही नगरिएको भन्दै संघले सेवा बन्दको कार्यक्रम सार्वजनिक गरेको हो ।
देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग पनि संघले गरेको छ ।
