काठमाडौँ, २ असोज–प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरूलाई देशप्रति जिम्मेवार हुन आग्रह गरेका छन्।

अध्यक्ष ओलीले देश गम्भीर संकटको अवस्थामा पुगेको उल्लेख गर्दै ती समस्या समाधान गर्न सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने समेत बताए।

मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले धेरै प्रकारका खतराबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरूको कर्तव्य भएको पनि स्पष्ट पारे। ओलीले संविधान निर्माणमा नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।

उनले नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुःखद अवस्था आएकाले उनको स्मरणमा आफ्नो पार्टीले ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको बताए।

ओलीले भने, ‘हामी संविधान दिवस पनि मनाइरहेका छौं। आज संविधान, सुवासचन्द्र नेम्वाङ र उहाँका योगदानको सन्दर्भमा मात्रै केन्द्रित भएर चर्चा गर्न चाहन्छु। साँच्चै गम्भीर भएर देशका बारेमा सोच्नुपर्ने अवस्था आएको छ। आज सबै दल र पक्ष मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ। नत्र धेरै प्रकारका खतराबाट हामी जेलिदैँ छौं। उहाँको योगदानको सम्मान र प्रशंसा गर्दै ती उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नुपर्ने वेला आएको छ।’

अध्यक्ष ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउने उद्देश्य लिएको र त्यसलाई पूरा गरेरै छोड्ने दृढता समेत व्यक्त गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *