काठमाडौं, ३ असोज–महानगरपालिकाभित्र रहेका विद्यालयका शिक्षकले विद्यालय नै बन्द गरेर धर्ना, नाराजुलुस तथा आन्दोलनका कार्यक्रममा सहभागी हुन गएमा महानगरपालिकाले कारबाही गर्ने भएको छ।

बुधबार नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक काठमाडौंमा आन्दोलनरत छन्। यसमा काठमाडौं महानगरभित्र रहेका विद्यालयका शिक्षक पनि सहभागी छन्।

केही स्थानीय तहले विद्यालय बन्द गरेर आन्दोलनमा गए कारबाही हुने सूचना जारी गरिसकेका छन्। काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले पठनपाठन छाडेर आन्दोलनमा गए कारबाही हुने बताए।

‘कोही पनि शिक्षक आन्दोलनमा गए कडा कारबाही हुन्छ, बुधबार त सार्वजनिक बिदा भइहाल्यो, तर बिहीबारदेखि आन्दोलनमा गए कारबाही हुन्छ,’ उनले भने, ‘आचारसंहिताले शिक्षकलाई आन्दोलन र राजनीति गर्न दिँदैन।’

उनले महानगरभित्रका कुनै पनि शिक्षक आन्दोलनमा गएको थाहा पाए तुरुन्तै कारबाही गर्ने चेतावनी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *