काठमाडौँ, ६ असोज–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन्।

स्वर्णयुगको झल्को दिनेगरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको जिकिर थियो। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुन तस्करी प्रकरण चलाउनेहरू आफैँले स्वर्ण युग आयो भनेर भनिरहेको भन्दै सरकारलाई व्यंग्य पनि गरे।

ओलीले भने, ‘सुन त यहाँ ब्रेक सुमा सुनैसुन। भेपमा सुनैसुन। सिगरेट खान खोज्यो सुनैसुन। पानी चलाउने मोटर ल्यायो, सुनैसुन। जे छोयो, त्यो सुनैसुन। स्वर्ण युग आयो भन्दै छ सरकार। यति सुन आएको छ। फेरि स्वर्ण युग नआए कहिले आउँछ तरु भन्दै छ सरकार। नुन पनि पाइँदैन भन्दा सरकारको विरोध गरेजस्तो हुँदैन। पहिले पहिले रातो चन्दन उत्तर लगिन्थ्यो, अहिले उत्तरतिरबाट सुन ओरालो झारिन्छ। यो भइराखेको छ।’

‘चिल आयो, चिल आयो’ भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीले बताए। उनले देशको अवस्था नाजुक भएको उल्लेख गर्दै यस्तो अवस्थामा परिवर्तन ल्याउनैपर्ने बताए।

ओलीले भने, ‘अगाडि बढ्ने हो भने देशलाई शिरमा राख्न सक्नुपर्छ। आफ्नो स्वार्थलाई केन्द्र भागमा राख्यो भने देशलाई सफल बनाउन सकिँदैन। देशलाई सफल बनाउनका निम्ति नातागोता, परिवारवाद भन्नुहुँदैन।’

अध्यक्ष ओलीले देशको मूल्यमा कुनै पनि व्यक्तिको स्वार्थ पूरा गर्न नसकिने पनि बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *