दमक, ८ असोज–सर्वोच्च अदालतबाट पुनर्बहाली भएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
सोमबार मुख्यमन्त्री कार्कीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै थप ४ मन्त्री नियुक्त गरेका हुन्। विश्वासको मत लिन बाँकी रहेका मुख्यमन्त्री कार्कीको मन्त्रिपरिषद्मा अब केही दिनका लागि मन्त्रीहरुको संख्या ९ पुगेको छ।
मुख्यमन्त्री कार्कीले सोमबार बुद्धिकुमार राजभण्डारीलाई खानेपानी, सिंचाइ तथा ऊर्जा, लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन र रामप्रसाद महतलाई उद्योग, कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका छन्।
यसैगरी निरन राईलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री नियुक्त भएका छन्। नियुक्त भएका सबै मन्त्रीहरु सत्ताधारी दल एमालेका हुन्।
यसअघि मुख्यमन्त्री कार्कीले नियुक्त गरेका मन्त्रीहरु तिलकुमार मेन्याङ्बोलाई स्वास्थ्य, पाँचकर्ण राईलाई पर्यटन, वन तथा वातावरण र एकराज कार्कीलाई भौतिक पूर्वाधार विकास अनि सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियो। यसअघि मेन्याङ्बो खानेपानी, सिँचाइ तथा उर्जामन्त्री रहेका थिए।
उनीहरुलाई सोमवार मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।
सर्वोच्च अदालतको परमादेशपछि २२ भदौमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त एमाले नेता कार्कीले असोज २० भित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ।
हालसम्म एमाले नेतृत्वको सरकारमा अन्य कुनै दल सामेल भएका छैनन्। अहिलेसम्म साथ दिँदै आएको राप्रपाले समेत सरकारमा सहभागी बन्न इन्कार गरेपछि मुख्यमन्त्री कार्कीले एमालेबाट मात्रै मन्त्री नियुक्त गरेका हुन्।
