दमक, ८ असोज–चार वर्षअघि दमक रेडक्रसको आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा आएका थिए, मुटुरोगका विशेषज्ञ डा.भगवान कोइराला । त्यही मेसोमा उनले रेडक्रसका पदाधिकारीमाझ देशभर विशिष्टीकृत बाल अस्पताल निर्माणको परिकल्पना साझा गरे ।
डा.कोइरालाको महत्त्वाकांक्षी योजना सुनेपछि रेडक्रसकर्मीहरूले एकै स्वरमा भने, ‘यदि बाल अस्पताल दमकमै बन्छ भने हामी सघाउन तयार छौं ।’
कोइरालाले थपे, ‘त्यसो भए एक बिघा जग्गा खोज्नुस्, बाल अस्पताल यतै बनाउँला ।’
रेडक्रसकर्मीले करिब वर्ष दिनजति त जग्गा खोजीमै लगाए । अस्पतालका लागि जग्गा पनि भेटियो । तर, अस्पतालका लागि उपयुक्त थिएन । त्यहिबेला कोरोना संक्रमण सुरु भयो‚ त्यसले गर्दा अस्पताल निर्माण योजना पनि स्थगित भयो ।
कोभिडको तेस्रो भेरियन्ट बालबालिकाका लागि घातक हुने व्यापक चर्चा थियो । त्यही सिलसिलामा रेडक्रसकर्मीले डा. कोइरालालाई फेरि भेटे र प्रस्ताव गरे, ‘तेस्रो भेरियन्ट बालबालिकामा केन्द्रित भएर आउने चर्चा छ । बरु रेडक्रसको भवन नै उपलब्ध गराउँछौं, अस्पतालचाहिँ सुरु गरिहालौं ।’
‘डा.कोइरालाले अस्पताल गैरनाफामूलक भएकाले भाडा तिर्न सक्दैनौं, यो सर्त मन्जुर हो भने अस्पताल सुरु गर्छौं भन्नुभयो,’ दमक रेडक्रसका सभापति प्रकाश बुढाथोकीले सुनाए, ‘२५ वर्ष लामो मेहेनतबाट बनेको भव्य भवन हामीले ३० वर्षका लागि निःशुल्क उपलब्ध गराउने निर्णय गरेपछि अस्पताल ठडियो ।’
दमक–७ रतुवा किनारस्थित ७ कट्ठा जमिनमा बनेको भवन रेडक्रसले उपलब्ध गराएपछि डा। कोइरालाले गत चैत १९ देखि ५० शैय्याको अस्पताल सञ्चालन गरेका हुन् । रेडक्रसले २ करोड ८५ लाख रुपैयाँ खर्चिएर बनाएको चार तलले भवन लामो समयदेखि प्रयोगविहीन थियो ।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ ९किओच० को पहलमा बाल अस्पताल निर्माण भएको हो । इन्स्टिच्युटका अध्यक्ष डा.कोइरालाले काठमाडौसँगै ७ वटा प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माणको महत्त्वाकांक्षी योजना अघि सारेका छन् । मुटु शल्यचिकित्सक डा.कोइरालाले मुटुको शल्यक्रिया गरेर धेरै बालबालिकाको ज्यान बचाए पनि ती बालबालिकाले पछि झाडापखला, ज्वरो, निमोनियाजस्ता सामान्य रोगका कारण ज्यान गुमाउने गरेका देखेपछि बाल अस्पताल बनाउने योजना बनाएको दमक बाल अस्पतालका अध्यक्ष डा.सन्जिव शर्माले जनाए । शर्माले भने, ‘सब अस्पताल देशी विदेशी दाता र सरकारको सहयोगबाटै बन्नेछन् ।’
त्यही योजनाअनुसार ने काठमाडौ बाहिर दमकमा पहिलो बाल अस्पताल निर्माण गरिएको हो । अस्पताल निर्माणमा दमक नगरपालिका, प्रदेश सरकारसँगै विभिन्न व्यवसायी संस्था र व्यक्तिले पनि सहयोग गरेका छन् । ‘यो काठमाडौं बाहिरको पहिलो बाल अस्पताल हो,’ दमक रेडक्रस सभापति बुढाथोकीले भने ।
मुलतः विपन्न र असहाय वर्गका बालबालिकालाई सहज एवं निःशुल्क उपचार प्रदान गर्ने अस्पतालको योजना छ । आकस्मिक सेवा, सघन उपचारलगायत बालबालिकाका सबै किसिमका रोगका उपचार भइरहेको छ । ‘बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या हुँदा काठमाडौं या भारत पुर्याउनुपर्ने बाध्यताको अब अन्त्य हुनेछ,’ दमक बाल अस्पताल सञ्चालक समितिका सदस्य लीला गुरागाईँले भने, ‘बालबालिकालाई सबै खाले उपचार सेवा यही उपलब्ध हुन्छ ।’
गुरागाईंका अनुसार अस्पतालमा भेन्टिलेटरसहितको आकस्मिक तथा सघन उपचार सेवा सुचारु भइसकेको र असोजदेखि बाल बालिकाका जटिल रोगको शल्यक्रिया समेत शुरु गरिने तयारी अन्तिम चरणमा पुगेको छ । ‘शल्यक्रिया समेत सुरु भएपछि भने अस्पताल पूर्ण रुपमा सञ्चालनमा आउनेछ,’ गुरागाईंले थपे, ‘अस्पताल पूर्ण सञ्चालनमा आइनसक्दै बिरामीको चाप थामी नसक्नु छ ।’
अस्पतालकी नर्सिङ विभाग प्रमुख पवित्रा धिमालले बालरोग विशेषज्ञ ३, मेडिकल अधिकृत ४ र स्टाफ नर्स गरी सयभन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारी अस्पतालमा कार्यरत रहेको बताइन् । उनले आवश्यकताअनुसार जनशक्ति थपिँदै लगिने जनाइन् ।
‘दैनिक सरदर ३ सयभन्दा बढी बालबालिकाको उपचार भइरहेको छ,’ धिमालले भनिन्, ‘बिरामीको यति धेरै फ्लो छ कि कहिलेकाहीँ त बेड उपलब्ध गराउनै सक्दैनौं ।’ उनका अनुसार बाल अस्पताल सुरु भएपछि पूर्वी नेपालका अधिकांश जिल्लाका बिरामी आउन थालेका छन् । विगतमा भारतको सिलिगुडी तथा काठमाडौं लगिने बिरामीहरू पनि यतै केन्द्रित हुन थालेका छन् । ‘कान्ति बाल अस्पतालको दररेटमा उपचार भइरहेको छ,’ धिमालले भनिन्, ‘खासगरी विपन्न, गरिब र असहाय बिरामीका लागि त निःशुल्क उपचार व्यवस्था छ ।’
पर्वत पोर्तेल/कान्तिपुर
