झिलझिले, ८ असोज–झापाको झिलझिलेस्थित सम्झाना चौकमा ११ असोजदेखि प्रथम बोका जुनियर फुटबल प्रतियोगिता सञ्चालनमा आउने भएको छ । शिबसताक्षी–८ झिलझिलेस्थित संम्झाना चौकका खेलप्रेमी युवाहरुले स्थापना गरेको बोका जुनियर फुटबल क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।
संम्झाना चौकदेखि उत्तरतर्फ अवस्थित बोका जुनियर फुटबल क्लबको खेल मैदानमा हुने प्रतियोगितामा इलाम, मोरङ र झापासहित १६ टिमले सहभागिता जनाउने भएको छ । प्रतियोगिता ११ असोजदेखि सुरु भएर २० असोजमा सम्पन्न हुने आयोजक बोका जुनियर फुटबल क्लबले जनाएको छ ।
यसैबीच, प्रतियोगिताको टाइसिट सार्वजनिक गरिएको आयोजक क्लबका संयोजक सुवास मेन्याङ्बोले जानकारी दिए । मेन्याङ्बोका अनुसार प्रतियोगिताको उद्घाटन ११ असोजमा हुने र सो दिन दुईवटा खेल हुने भएको छ । पहिलो खेल इलाम–लक्ष्मीपुरको एभरग्रीन फुटबल क्लब र इलाम–चुलाचुलीको सृजना युवा समाजबीच हुने भएको छ । दोस्रो खेल आयोजक बोका जुनियर फुटबल क्लब (रातो) र शिबसताक्षी–१० माइधारस्थित केएनके स्पोटिङ क्लबीच हुने भएको छ ।
त्यस्तैं, १२ असोजमा पनि दुई खेल हुने भएको छ । पहिलो खेल शिबसताक्षी–८ फाक्तेप फुटबल क्लब र कमल–३ केर्खास्थित मोनल्याण्ड स्पोटिङ क्लबबीच हुने र दोस्रो खेल शिबसताक्षी–११ ब्याङडाँडास्थित ब्याँङडाँडा फुटबल क्लब र रेल स्ट्रार फुटबल क्लबबीच हुने भएको छ ।
त्यसैगरी, १३ असोजमा दुई खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल आयोजक बोका जुनियर फुटबल क्लब र इलामको एमएफसी चुलाचुलीबीच हुने र दोस्रो खेल कमल–५ पाडाजुङ्गीस्थित रङ्गरेस युथ क्लब र शिबसताक्षी–१ फुलबारी स्पोटिङ क्लबीच हुने भएको छ । १४ असोजमा डुडामारी फुटबल क्लब र शिबगञ्जस्थित राइजिङ युथ क्लबबीच हुने, १४ असोजमा दुधे फुटबल क्लब र भाङबारी स्पोटिङ क्लब दमकबीच हुने भएको छ ।
प्रतियोगिताका लागि मूख्य प्रायोजक शिबसताक्षी नगरपालिका, शिबसताक्षी–८ वार्ड कार्यालय, वडा खेलकुद विकास समिति र किरात याक्थुम चुम्लुङ इजरायलले गर्ने भएका छन् । त्यसैगरी, खेलप्रेमी तथा पूर्व खेलाडी मनोज लावोती र मेची कलर हाउसले सह–प्रायोजक गर्ने भएका छन् ।
फाइनल खेल २० असोजमा हुने छ । सो प्रतियोगितामा बिजेताले रु २५ हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र पाउने र उपबिजेताले रु १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजका बोका जुनियर फुटबल क्लबले जनाएको छ । प्रतियोगिताको उद्घाटनका लागि नगर प्रमुख मेगाहाङ (रोशन) थोप्राले गर्ने र सो प्रतियोगिता सम्पन्न गर्न अनुमानित रु ३ लाख ५० हजार बढी खर्च हुने जनाएको छ ।

