झिलझिले, १० असोज–बोका जुनियर फुटबल क्लबद्धारा भोली (विहिबार) देखि झापाको झिलझिलेस्थित संम्झाना चौकको खेल मैदानमा सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
खेल-मैदानलाई व्यवस्थित गर्ने, सम्याउने, पानी लगाउने, झार उमार्ने, खेल हेर्न र खेल खेल्न आउने पाहुनका सवारी साधन पार्किङ, पिउने पानी, सौचालय, मञ्च निर्माण, अतिथि सत्कार, अतिथी घर लगायतका कामहरु पुरा भएको आयोजकले जनाएका छ । प्रतियोगिता सम्पन्न गर्न आयोजक संस्था बोका जुनियर फुटबल क्लबले यसअघि नै विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
शिबसताक्षी–८ सम्झाना चौकदेखि उत्तरमा अवस्थित खेल मैदानमा हुने प्रथम बोका जुनियर फुटबल प्रतियोगिताको समुद्घाटन नगर प्रमुख रोशन थोप्रोले गर्नुहुने कार्यक्रम रहेको छ । झापा, मोरङ र इलामका गरी कुल १६ वटा टिमहरुले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा बिजेता टिमले नगद २५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने र उपबिजेताले नगद १५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक सुवास मेन्याङ्बोले जानकारी दिए । उनका अनुसार प्रत्येक खेलमा म्यानअफ द म्याच प्राप्त गर्ने खेलाडीलाई नगदद्धारा पुरस्कृत गरिने भएको छ भने प्रतियोगिता अवधिभरी उत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्स, उत्कृष्ट किपर र उत्कृष्ट कोचलाई नगदसहित पुरस्कृत गरिने मेन्याङ्बोले बताए ।
प्रतियोगिताका लागि मूख्य प्रायोजक शिबसताक्षी नगरपालिका, शिबसताक्षी–८ वार्ड कार्यालय, वडा खेलकुद विकास समिति र किरात याक्थुम चुम्लुङ इजरायलले गर्ने भएका छन् । त्यसैगरी, खेलप्रेमी तथा पूर्व खेलाडी मनोज लावोती र मेची कलर हाउसले सह–प्रायोजक गर्ने भएका छन् ।

फाइनल खेल २० असोजमा हुने छ । सो प्रतियोगितामा बिजेताले रु २५ हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र पाउने र उपबिजेताले रु १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजका बोका जुनियर फुटबल क्लबले जनाएको छ । सो प्रतियोगिता सम्पन्न गर्न अनुमानित रु ३ लाख ५० हजार बढी खर्च हुने जनाएको छ ।
यसैबीच, प्रतियोगिताको टाइसिट सार्वजनिक गरिएको आयोजक क्लबका संयोजक सुवास मेन्याङ्बोले जानकारी दिए । मेन्याङ्बोका अनुसार प्रतियोगिताको उद्घाटन ११ असोजमा हुने र सो दिन दुईवटा खेल हुने भएको छ । पहिलो खेल इलाम–लक्ष्मीपुरको एभरग्रीन फुटबल क्लब र इलाम–चुलाचुलीको सृजना युवा समाजबीच हुने भएको छ । दोस्रो खेल आयोजक बोका जुनियर फुटबल क्लब (रातो) र शिबसताक्षी–१० माइधारस्थित केएनके स्पोटिङ क्लबीच हुने भएको छ ।
त्यस्तैं, १२ असोजमा पनि दुई खेल हुने भएको छ । पहिलो खेल शिबसताक्षी–८ फाक्तेप फुटबल क्लब र कमल–३ केर्खास्थित मोनल्याण्ड स्पोटिङ क्लबबीच हुने र दोस्रो खेल शिबसताक्षी–११ ब्याङडाँडास्थित ब्याँङडाँडा फुटबल क्लब र रेल स्ट्रार फुटबल क्लबबीच हुने भएको छ ।
त्यसैगरी, १३ असोजमा दुई खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल आयोजक बोका जुनियर फुटबल क्लब र इलामको एमएफसी चुलाचुलीबीच हुने र दोस्रो खेल कमल–५ पाडाजुङ्गीस्थित रङ्गरेस युथ क्लब र शिबसताक्षी–१ फुलबारी स्पोटिङ क्लबीच हुने भएको छ । १४ असोजमा डुडामारी फुटबल क्लब र शिबगञ्जस्थित राइजिङ युथ क्लबबीच हुने, १४ असोजमा दुधे फुटबल क्लब र भाङबारी स्पोटिङ क्लब दमकबीच हुने भएको छ ।

