काठमाडौँ, १० असोज–नेकपा (एकीकृत समाजवादी) का सममानीत नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्प पालन नगरेको बताएका छन् । सधैं ‘सर्प पालन’ प्रकरणमा आफ्नो नाम मुछेर आलोचना हुने गरेको उनले प्रष्ट पारेका हुन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता खनालले आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना बेहोरेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाजमात्र उठाएको बताए । तर, आफ्नो नाममा आफूले नचाहँदा नचाहँदै नाम राखेको र त्यसबाट के–के गरे भन्नेबारे आफू अनभिज्ञ रहेको उनको भनाइ छ ।

सर्प पालनका लागि आफूले कुनै लगानी नगरेको भन्दै उलले उक्त घटनामा अख्तियारले समेत आफ्नो नाम मुछेको भन्दै असन्तुष्टि जनाए । नेता खनालले भने, ‘मलाई शंका लाग्दालाग्दै पनि ल ठिक छ राख्नुस् भनेर मेरो नाममा राख्नुभयो । मेरो नाम राख्नुभयो । त्यो नाम राखेर उहाँहरूले के के गर्नुभयो रु म त राजनीतिक मान्छे, म राजनीतिलाई पेशा, व्यवसाय, कमाउ, धमाउ मान्दिन । कतिपयले त्यसो गर्ने गर्छन्, ति अपराधी हुन् । राजनीति भनेको जनसेवाको कदम हो ।’

उनले जनसेवाको लागि कसैले पनि राजनीति गर्छ भने जनता र देशको सेवाका लागि गर्नुपर्ने बताउँदै भने, ‘राजनीतिलाई अरु कुनै बनाउने हो भने त व्यापार गरे भइगयो नि ।’ उनले नाम दिएर ठिक गरेँ कि गरिनँ भन्ने त्यतिखेरै आफूलाई लागेको बताउँदै भने, ‘नभन्दै पछि त विवाद सुरु भयो । यहाँ त ७३ करोड पैसा ल्याइयो । ७३ करोड पैसा ल्याएर झलनाथले सर्प पाल्दैछ भन्छन् एक खाले मान्छेहरू कमेन्टमा सर्प लेखेर बस्छन्, तिनीहरूको पेसा नै त्यही जस्तो लाग्छ ।’

नेता खनालले देशमा विशुद्ध औषधि बनोस् भन्ने आफ्नो इच्छा भएको बताउँदै भने, ‘अहिले विवादग्रस्त भएछ । अख्तियारमा समेत पुगेछ । म सर्प पाल्दिन, भैँसी, बाख्रा पाल्न छोडेँ ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *