दमक, १३ असोज–नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबारदेखि मेची महाकाली जागरण यात्रा गर्ने भएको छ । पार्टीले आज झापाको काँकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गर्दै मेची महाकाली जागरण यात्राको तयारी पूरा भएको बताएको छ ।
मेचीबाट सुरु हुने समाजवादी जागरण अभियानमा पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहित उच्च नेताहरुको सहभागिता रहने बताइएको छ । मेचिबाट सुरु भएको जागरण यात्रा २८ गते महाकाली गएर अन्त्य हुने छ ।
पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव तथा प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जागरण अभियानका क्रममा करिब एक हजार किलोमिटर यात्रा तय गरिने बताउनुभयो । उहाँले जागरण अभियानकै लागि गरिएको यो यात्रा नेपालको इतिहासको सबैभन्दा लामो यात्रा हुने टिप्पणी गर्नुभयो ।
जागरण अभियान अन्तर्गत असोज १४ गते पहिलो दिन झापाको काँकरभिट्टा, बिर्तामोड र दमकमा कार्यक्रम तथा सभाको आयोजा गरिने एकीकृत समाजवादीले जनाएको छ ।
पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव तथा जागरण अभियान मुल व्यवस्थापन समितिका संयोजक बिजय पौडेलले अन्य पार्टीको भन्दा भिन्न एजेन्डा लिएर एकीकृत समाजवादी जनताको माझमा जाने बताउनुभयो । उहाँले भन्नुभयो –‘यात्राको क्रममा जहा बाँस बसिन्छ उक्त स्थानका नागरिकसंग विभिन्न बिषयमा भेटघाट र अन्तरसंवाद हुन्छ।’ अभियानका क्रममा पार्टीले प्रत्यक्ष रुपमा जनताको सल्लाह, सुझाव र गुनासो सुन्नले र छलफल गर्ने पौडेलले बताउनुभयो ।
उहाँले बेरोजगारी उन्मुलन र आर्थिक समुन्नति अभियानको पहिलो प्राथमिकता भएको बताउनुभयो । कषि, उघोग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन, विदेश नीति र पार्टी निर्माणमा आधारित रहेर अभियान संचालन हुने नेता पौडेलले जानकारी दिनुभयो । उहाँले आगामी चुनावमा १ नम्बर पार्टी बनाउने लक्ष्यकासाथ पार्टीले जागरण अभियान सुरु गरेको उहाँको भनाई छ ।
पार्टीका केन्द्रीक कमिटी उपाध्यक्ष घनेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलनमा स्थाई कमिटी सदस्य कल्याणी खड्का, कोशि प्रदेश अध्यक्ष बलदेव चौधरी, पोलिटब्युरो सदस्य भाष्कर काफ्ले, झापा इन्चार्ज पुष्प पोखरेल, अनेरास्ववियु केन्द्रिय अध्यक्ष आरती लामा, समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष तिर्थ सिग्देल, झापा जिल्ला अध्यक्ष बेदराज रेग्मी लगायतका नेताहरुको उपस्तिथिरहेको थियो ।
