दमक, १४ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मेचीदेखि महाकालीसम्मका जनतालाई आफ्नो पार्टीसँग जोड्नका लागि मेची–महाकाली समाजवादी जागरण अभियानको थालनी गरिएको बताएका छन्।

एकीकृत समाजवादीद्वारा आयोजित मेची–महाकाली जागरण अभियानको उद्घाटन गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले देशको हालको स्थिति र आगामी दिनमा पार्टीले लिने कार्यदिशा जनतालाई अवगत गराउन अभियानको सुरुवात गरिएको बताए।

उनले भने, ‘सिंगो देशलाई केही सन्देश सम्प्रेषण गर्ने उद्देश्यले अभियान सञ्चालन गरेका हौँ। जनतामाझ जाँदा हामीले जनताका एजेण्डा लिएर जान्छौँ। यो अभियान पार्टीलाई जनतासँग जोड्ने अभियान हो।’

आफ्नो पार्टी कम्युनिष्ट पार्टी भएकाले जनताका घरघर जान दलका नेता तथा कार्यकर्तालाई नेपालले निर्देशन दिए । अभियान सुरुवाती सभालाई सम्बोधन गर्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले अहिलेको सरकारले जनताका कुनै काम नगरेको दाबी गरे। संविधानले नेपाली जनतालाई हक दिए पनि अझै खाने र बस्ने हक नपाएको उनले बताए।

खनालले भने, ‘हिजो सामन्ती वर्गले शोषण गर्थे भने अहिले पूँजीपति वर्गले शोषण गरिरहेका छन्। अहिले पनि गाँस, बास र कपासको हक पाउनबाट नेपाली जनता वञ्चित छन्।’

देशका हरेको क्षेत्र ‘दलाल पूँजीपति’हरूको कब्जामा रहेको उनको दाबी थियो। उनले देशमा कृषि क्रान्ति गर्नसके नेपाली जनताले राहतको अनुभूति गर्न पाउने बताए।

पार्टीका महासचिव घनश्याम भुसालले किसानले उत्पादन गरेको हरेक बस्तुको बिक्रीको ग्यारेन्टी गर्दा कम्तिमा पाँच बर्षमा परिवर्तनको अनुभूति गर्न सकिने दाबी गरे।

भुसालले भने, ‘अन्य देशहरूमा यो कुरा सम्भव भएको छ। नेपालमा पनि यसको ग्यारेन्टी गर्नसके कम्तिमा पाँच नत्र सात वर्षभित्रमा कृषिलाई व्यवस्थित गर्न सकिन्छ।’

कृषिमा श्रम गर्ने मान्छे बचतको भागिदार हुने उनले बताए। नेकपा एकीकृत समाजवादीको मेची महाकाली जागरण अभियान सुरु भएको छ। आइतबार झापाको काँकरभिट्टाबाट अभियान सुरु भएको हो।

अभियान सुरुवात गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भुसाललगायत नेता काँकरभिट्टा आएका थिए। यात्राका क्रममा करिब एक हजार किलोमिटर यात्रा तय गरिने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *