दमक, १७ असोज–झापाको दमक–८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबाट संचालक डा.चन्द्र प्रकाश गैरेले २ करोडबढी अपचलन गरेको आन्तरिक विवाद समाधान समितिले औंल्याएको छ ।

दमक नगरपालिकाको वडा नं ८ कार्यलयद्धारा हस्पिटलका मालिकहरुबीचको जारी बिबाद मिलाउन गठन गरिएको समितिले वडालाई बुझाएको प्रतिबेदनमा सो कुरा उल्लेख छ ।

संचालक गैरे बिराटनगरस्थित बिराट टिचिङ हस्पिटलमा फुलटाइम काम गर्छन् भने दमककै ओम शान्ति डेन्टल हस्पिटलका मालिक हुन् । उनी ऊँ शान्तिमा बिदाका दिन आएर काम गर्ने गर्छन् ।

दमक हस्पिटलका संचालकहरुको आन्तरिक बिबाद उत्कर्षमा पुगेपछि वडा नं ८ कार्यलयमा भएको सर्बपक्षिय भेलाले बिबादबारे अध्ययन गर्न वडा सदस्य खेम बहादुर श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

समितिमा अम्बिका खनाल, लिला गुरागाई, डिल्ली प्रसाद न्यौपाने र कृष्ण कार्की सदस्य थिए । समितिले केहीदिन अघि ८ नं।वडा कार्यलयका वडाध्यक्ष दिपेश दाहाललाई प्रतिबेदन बुझाएको थियो ।

हस्पिटल एकलौटी संचालन गर्दै डा.गैरेले २ करोडबढी अपचलन गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ । उनले हस्पिटलको शेयर दिने भन्दै उठाएको रकम र हस्पिटलबाट अपचलन गरेको रकम २ करोडबढी देखिएको हो ।

हस्पिटलमा कार्यरत डाक्टर संजय रिमाल, डाक्टरहरु प्रकाश शर्मा, बिमला बुढाथोकी, दिब्य तुलाचन, लिलासुन्दर श्रेष्ठसहित ८ जनालाई शेयर दिने भनेर ६१ लाख उठाएर लगेको तर शेयर नदिएको समितिको प्रतिबेदनमा उल्लेख छ ।

त्यस्तै, आफन्तसहित बिभिन्न ब्यक्तिको नाममा चेक काटेर संचालक गैरेले ठुलो रकम अपचलन गरेको र सो रकम हस्पिटलमा जम्मा गर्न पनि समितिले सुझाव दिएको छ । उनले हस्पिटलको फार्मेसी ठेक्कामा लिएर चलाएको र सम्झौता अनुसार हस्पिटललाई रकम नदिएको समितिले औल्याएको छ ।

बिक्रीको १५ प्रतिशत रकम दिने सम्झौता गरि फार्मेसी संचालन गरेको र तर त्यसबापत गैरेले ६१ लाखबढी रकम हस्पिटललाई दिनुपर्ने समितिले सुझाएको छ ।

हस्पिटलबाट बाहिर जाने ल्याव टेस्ट भनेर बिभिन्न मितिमा संचालक संचालक गैरेले २९ लाख अपचलन गरेको देखिएको प्रतिबेदनमा उल्लेख छ ।

दमक हस्पिटलबाट आउटसोर्सका लागि दमककै निर्णायक रेफेरेन्स ल्याव प्रालिमा स्याम्पल गएको तर सो रकम निर्णायक ल्याव वा अन्य ल्यावलाई नदिई आफै लगेको देखिएको समितिले जनाएको छ ।

संचालकहरुको आन्तरिक बिबादका कारण हस्पिटल बन्द हुनसक्ने सम्भावना देखिएको भन्दै समितिले प्रतिबेदनमा त्यसका लागि स्थानीय सरकारलाई दुबै पक्षलाई राखेर बार्ता र छलफलको माध्यमबाट समस्या समाधान गर्न सुझाव दिएको छ ।

संचालकहरुको आन्तरिक द्धन्दले हस्पिटल बन्द भए त्यसले ६ दर्जनबढी बेरोजगारी हुने, लगानीकर्ताको करोडौ डुब्ने र सर्बसाधारण स्वास्थ्य बिमा सुबिधासहितको स्वास्थ्य सेवा लिनबाट बञ्चित हुनुपर्ने अवस्था देखिन्छ-प्रतिबेदनमा उल्लेख छ ।

संचालककै आन्तरिक बिबादका कारण हस्पिटल बन्द हुनुहुँदैन र स्वास्थ्य जस्तो महत्वपुर्ण सेवा पाउनबाट जो कोही पनि बञ्चित हुनुहुँदैन भन्दै प्रतिबेदनमा भनिएको छ । बिबादका कारण हस्पिटल प्रशासन र कर्मचारीलाई काम गर्न निक्कै तनाव देखिएको र संचालककै आन्तरिक बिबादमा पर्नु र बन्द हुनु कसैको हितमा हुँदैन ।

प्रतिबेदनमा हस्पिटलका मालिकहरुबीच बिबाद हुनुका मुख्य कारण नै संचालक डा। गैरेले एकलौटी निर्णय गर्दै हस्पिटल संचालन गर्नु र आर्थिक अपचलन गर्नु देखिएको उल्लेख गरिएको छ । ७ जना मालिक भएपनि संचालक गैरेले ४ आर्थिक बर्ष आफुखुशी एकलौटी चलाएको देखिएको छ ।

प्रतिबेदनमा भनिएको छ- करिब ४ आर्थिक बर्ष आफुखुशी एकलौटी आर्थिक कारोबारदेखि हस्पिटलको सम्पुर्ण कारोबार गरेको देखिएको छ । संस्थामा कहिल्यै संस्थागत निर्णय र साधारण सभा गरेको देखिदैन ।

हस्पिटलको ५० प्रतिशत शेयर काठमाण्डौंका अर्का डाक्टर निराजन भुषालको नाममा छ र उनी हस्पिटलका अध्यक्ष हुन् । तर उनी हस्पिटलको संस्थागत काममा आएको देखिदैन र संस्थागत निर्णयमा उपस्थित भएको देखिदैन ः प्रतिबेदनमा उल्लेख छ ।

हस्पिटलको सम्पुर्ण आय बिबरण प्रष्ट देखिएपनि ब्यय बिबरण अस्पष्ट र अपारदर्शी देखिएको प्रतिबेदनमा उल्लेख गर्दै भनिएको छ- ब्ययको ५० प्रतिशतबढीको आधिकारिक बिल भौचर देखिदैन, ठुलो रकमको चेक ब्यक्तिको नाममा काटेर रकम अपचलन गरेको देखिन्छ ।

कर कार्यलयमा कर बुझाउँदा, स्वास्थ्य बिमा ल्याउँदा, बिमाको रकम ल्याउँदा र हस्पिटल नबिकरण गर्दा ठुलो रकम खर्च गरेको भनिएपनि त्यसको आधिकारिक बिल भपाई नदेखिएको समितिले औल्याएको छ ।

हस्पिटलले ४ आर्थिक बर्षमा १६ करोड बढी आम्दानी गरेको देखिएको छ । तर खर्चको बिबरण आय ब्यय बिबरण प्रमाणित हुन नसक्ने र अपारदर्शी देखिएको समितिले औल्याएको छ ।

संचालकहरुबीच बिबादको मुख्य बिषय पनि ब्यय बिबरण पारदर्शी नहुनु हो । हस्पिटलले डाक्टरसहित बिभिन्न बिक्रेताहरुलाई २ करोडबढी तिर्न बाँकी रहेको देखिन्छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *