काठमाण्डौं, २६ असोज–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुदलगायत सबै पूर्वाधार अपांगमैत्री बनाइने सरकारको नीति रहेको बताएका छन्। अपांगतासम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलपछि राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
प्रधानमन्त्रीले भने, ‘आगामी दिनमा हुने पारा ओलम्पिकमा सहभागी हुने खेलाडीलाई तालिम र प्रशिक्षणको व्यवस्थालाई थप प्रभावकारी बनाउँदै लगिनेछ। साथै, उचित र पर्याप्त खेल सामग्रीहरूको व्यवस्थाका लागि अनुदान उपलब्ध गराउने कार्यक्रमलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु।’
उनले प्राकृतिक प्रकोप, राहत, विपत्, पुनर्स्थापना र पुनर्लाभका कार्यक्रममा अपांगता भएका व्यक्तिलाई सरकारले विशेष प्राथमिकतामा राखेको स्पष्ट पारे।
उनले अगाडि भने, ‘त्यस्ता व्यक्तिको न्यायोचित आरक्षणसम्बन्धी प्रावधान संघीय निजामती सेवा ऐनको क्षेत्राधिकारभित्र पर्ने र हाल उक्त ऐन संसदमा दर्ता हुने अवस्थामा छ। एकीकृत संघीय निजामती सेवा ऐनले नेपालको समग्र प्रशासनिक संयन्त्रलाई बलियो तरिकाले जोड्ने र सबै तह र तप्कामा रहेका राष्ट्रसेवक कर्मचारीलाई राष्ट्रनिर्माणप्रति प्रतिबद्ध, अनुशासित र उत्प्रेरित बनाउने गरी कानुनी बन्दोबस्ती गर्न मेरो नेतृवको सरकारले उच्च प्राथमिकतामा राखेको छ।’
अपांगता भएका वा फरक क्षमता भएका राष्ट्रसेवकलाई कानुनी रूपमै विशेष संरक्षण गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरे।
