काठमाडौं, २९ असोज–आज (सोमबार) ४३औँ विश्व खाद्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘जीवन र खाद्यको आधार पानी’ भन्ने नाराका साथ नेपालमा यो दिवस मनाइँदैछ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओद्वारा सन् १९४५ मा विश्व खाद्य दिवस मनाउन थालिएको हो। नोभेम्बर १९७९ मा भएको २० औँ एफएओ सम्मेलनमा यसलाई मान्यता दिइएको हो। त्यसयता हरेक वर्षको अक्टोबर १६ को दिन विश्वभर खाद्यान्न संकट र भोकमरीविरुद्ध ऐक्यबद्ध भई लड्न विश्व खाद्य दिवस मनाइन्छ।
दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश जारी गर्दै खाद्य सुरक्षा र भोकमरी अन्त्यका लागि सरकारले काम गरिरहेको बतएका छन्।
नेपालले पछिल्ला २३ वर्षमा खाद्य सुरक्षामा प्रगति हासिल गर्दै आएको छ। विश्व स्वास्थ्य संगठनले विभिन्न स्रोतहरुमार्फत् संकलन गरेको तथ्यांकअनुसार नेपाल विश्व भोकमरीको सूचीमा ६९औँ स्थानमा छ। यो सूचीमा नेपालको स्थान प्रत्येक वर्ष सुधार हुँदै आएको छ।
