काठमाडौँ, २ कार्तिक–नेपाल विद्युत् प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाखको विद्युत् भारततर्फ निर्यात गरेको छ। प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री थालेको थियो।
प्राधिकरणले चालू आर्थिक वर्ष २०८०र८१को साउन, भदौ र असोजमा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत्् भारतर्फ निर्यात गरेको छ। असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाखको विद्युत्् निर्यात गरिएको छ।
तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत््को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ। गत जेठ महिनाका पाँच दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको विद्युत्् भारतर्फ निर्यात भएको थियो।
जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युत््को औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो। साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत्् भारतीय बजारमा निर्यात भएको छ।
साउन,भदौ र असोजमा भारतर्फ निर्यात गरिएको विद्युत््को औसत बिक्री दर प्रतियुनिट क्रमश ८ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ।
तीन महिनाको विद्युत्् समग्र औसत बिक्री दर प्रति युनिट १० रुपैयाँ २७ पैसा छ। विद्युत् निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ।
