विराटनगर, ४ कात्तिक–मोरङको धनपालथान गाउँपालिका–२ स्थितबाट कटुवा पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व सुरक्षा विशेष कार्य योजना अनुसार प्रहरी चौकी अमाहीबरियातीबाट हिजो राती साढे ९ बजे गस्तीमा खटिएको गस्ती टोलीले धनपालथान–२ स्थित भित्री सडक खण्डमा सडक छेउमा रोकी राखेको स्कारपियो गाडीलाई शंका लागि चेकजाँच गर्दा उक्त गाडीको ड्यासबोर्ड भित्र लुकाई राखेको कटुवा पेस्टोल १ थान र ३ राउण्ड गोली समेत फेला पारेको हो ।
गाडीमा गोलीसहित कटुवा पेस्तोल फेला परेसँगै गाडी चालक सर्लाही हरीपुर्वा–७ का २७ वर्षीय रविन्द्रकुमार यादव र गाडीमा सवार रहेका सर्लाही हरीपुर्वा–७ का २० वर्षीय कमलेशकुमार यादव र महोत्तरी गौशाला–६ का २२ वर्षीय रामदयाल यादव समेतलाई पक्राउ गरिएको हो । कटुवा पेस्तोलसहति पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ ।
