तेलअभिभ, ६ मंसिर–इजरायलको मन्त्रिपरिषद्ले बुधबार हमाससँगको चार दिने अस्थायी युद्धविरामलाई अनुमोदन गरेको छ। पहिलो चरणमा इजरायल र हमासबीच ५० जना बन्धक रिहाइ गर्ने सहमति पनि बनेको छ।
इजरायली गुप्तचर संस्था मोसाद र अमेरिकी गुप्तचर संस्था सीआईएका प्रमुख विलियम बर्न्सनले उक्त सम्झौता गराएका हुन्। उक्त सम्झौताका लागि अमेरिकी राष्ट्रपति जो बाइडनले कतारका अमीरलाई पटक पटक फोन गरेका थिए। बन्धक छोड्ने काम बिहीवार शुरु गर्ने नभए शुक्रवारदेखि गर्ने बताइएको छ।
रिहाइ गरिनेमा इजरायली महिला र बालबालिका रहेका छन्। हमासले दुई दिनअघि मात्रै आफ्नो नियन्त्रणमा रहेका व्यक्तिको उमेर‚ लिंग र राष्ट्रियताको जानकारी दिएको थियो।
रिहा हुने इजरायली बन्धकहरूमा महिला र बालबालिका मात्र हुनेछन्। पहिलो चार दिनमा हमासले ५० जना बालबालिका र महिलालाई रिहा गर्नेछ। दुवै पक्ष युद्धविराम बढाउन सहमत भए भने त्यसपछि इजरायली पुरुषको पालो आउँछ। इजरायलकै पनि सैन्य कर्मचारीलाई रिहा गरिने छैन। हमासले अक्टोबर ७ तारिखमा गरेको आक्रमणमा २४० जनालाई बन्धक बनाएको थियो।
विदेशी बन्धकहरूलाई रिहा गर्ने विषयमा हाल वार्ता भएको छैन। त्यसमा थाई र नेपाली नागरिक विपीन जोशी पनि रहेका छन्।

