दमक, १५ मंसिर–’स्वास्थ्य जीवनको चाहाना, योग, शिक्षा र साधना’ भन्ने उद्घोषसहित पातञ्जल योग समितिको तेस्रो राष्ट्रिय महाधिवेशन झापाको दमकमा भोलीदेखि दुई दिनसम्म हुने भएको छ ।
दमकस्थित पशुपति मन्दिर तथा सेवा सदनमा मंसिर १६ र १७ गते हुने पातञ्जल योग समितिको तेस्रो महाधिवेशनले ५१ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने भएको छ । दुई दिनसम्म हुने महाधिवेशनमा सहभागी हुन देशभरका १५० भन्दा धेरै योगकर्ता प्रतिनिधिहरु दमकमा भेला भएका छन ।
महाधिवेशनको अन्तिम तयारीको अवसर पारेर शुक्रबार पशुपति सेवा सदनमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकार सम्मेलनमा पातञ्जल योग समितिको तेस्रो महाधिवेशन तयारी, व्यवस्थापन, सहभागिता, योग दर्शन, स्वास्थ्य जीवन यापनका लागि साधना लगायतका बारेमा जानकारी गराइएको छ ।
पातञ्जल योग समितिका राष्ट्रिय अध्यक्ष बाल मुकुन्द सुवालको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो । अध्यक्ष सुवालका अनुसार दमकमा यो महाधिवेशन हुनुले योगभुमी भएको पुष्टि गर्नेछ । अध्यक्ष सुवालले २०७५ मा भक्तपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाजकल्याण परिषदमा आवद्ध यो संस्था योग बिधाको बैधानिक संस्था भएको बताउनुभयो । वर्तमान समयमा फैलिएको विकृति, बिसंगती, मानसिक तनाव र चारित्रिक विचलनलाई रोकथाम गर्न योगको महत्वपूर्ण भुमिका हुने चर्चा गर्दै उनले बिद्यालयहरुमा पठनपाठन हुने पाठयपुस्तकमा नै योग सम्बन्धिका सामग्री योग विशेष कक्षा सञ्चालन गरिनु आवश्यक भएकोमा आफूहरुले जोड दिँदै आएको उल्लेख गर्नुभयो ।
सो पत्रकार सम्मेलनमा तेस्रो महाधिवेशन तयारी मूल आयोजक समितिका संयोजक तथा पातञ्जल योग समितिका राष्टिय महासचिव नवराज काफ्लेले महाधिवेशनको उदघाटन बालसन्त मोहनशरण देवाचार्यबाट हुने बताउनुभयो । महासचिव काफ्लेका अनृुसार दमक महाधिवेशनले ५१ सदस्यीय केन्द्रिय समिति निर्वाचित गर्ने छ ।
पत्रकार सम्मेलनमा पातञ्जल योग समितिका राष्ट्रिय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज होम प्रसाद गौतमले महाधिवेशन अन्तर्गत शनिबार बिहान ४ः३० बजेदेखि योगाभ्यास कार्यक्रम सञ्चालन हुने र सोपछि प्रभातफेरीको आयोजना गरिने जानकारी दिनुभयो ।
त्यस्तै, सोही दिन महाधिवेशनको उदघाटन, बन्द सत्रमा सांगठनिक र आर्थिक प्रतिवेदन पेश हुनेछ भने आइतबार पनि योगाभ्यास कार्यक्रम पश्चात बिहान साढे १० बजे दमक घोषणा पत्र प्रस्तुत गरिने र नवनिर्वाचितहरुको बधाई, शुभकामना लगायतका कार्यक्रमहरु पश्चात महाधिवेशन समापन गरिनेछ ।
आज (शुक्रबार) खानपान र जीवन यापनको विषयमा अन्तरक्रिया गरिनुका साथै योग साधना सम्बन्धी तालिम समेत भएको थियो । पातञ्जल योग समितिका राष्ट्रिय उपाध्यक्ष तथा योग प्रशिक्षक विभाग प्रमुख सुवर्ण चित्रकारले मानव जीवनमा योगको महत्वका बिषयमा प्रशिक्षण दिनुभएको पातञ्जल योग समिति झापाका प्रशिक्षक ताराप्रसाद गौतमले जानकारी गराउनुभयो । राष्ट्रिय उपाध्यक्ष समेत रहेका योग प्रशिक्षक सुवर्ण चित्रकारले योग र साधनाका बिषयमा आम नागरिकलाई बुझाउनु पर्ने र उनीहरुको घर घरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनुपर्ने जोड दिनुभयो ।
