दमक, १७ मंसिर–३२औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर नेपालसहित विश्वभरी आज (आइतबार) विभिन्न कार्यक्रम गरिएको छ । अपाङ्गता भएका व्याक्तिहरुको हक–अधिकार, जीवनस्तरमा सुधार र संवैधानिक कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिन नेपालमा अपाङ्गता सम्बन्धी कार्यरत संघसंंस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
यसैबीच, झापाको दमकमा आज (आइतबार) साँझ दमक गणतन्त्र चौकमा दीपप्रज्वलन गरी ३२औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ ३२औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको हो ।
पूर्वाञ्चल बाहिरा संघ, अटिजम सोसाइटी झापा, भूटानी शरणार्थी अपाङ्ग संघको सहकार्य, दमक अपाङ्ग सहयोग समितिको व्यवस्थापन र दमक नगरपालिकाको आयोजनामा दमकस्थित गणतन्त्र चौकमा दीपप्रज्वलन गरिएको हो ।
दमक अपाङ्ग सहयो समितिका सचिव तथा अपाङ्गताहरुको अधिकारमा सक्रिय मदनकुमार बोहोराका अनुसार दीपप्रज्वलन कार्यक्रममा कोशी प्रदेश सांसद होमबहादुर थापाको प्रमुख आतिथ्यतामा र दमक नगर प्रमुख रामकुमार थापाको विशेष उपस्थिति थियो ।
सो अवसरमा आयोजित संक्षिप्त कार्यक्रमका सम्बोधन गर्नुहुँदै प्रदेश सांसद थापा र दमक नगर प्रमुख थापाले अपाङ्गता भएका व्याक्तिहरुको हक, अधिकार र जीवन यापनमा सहजताका लागि काम गर्ने प्रतिवबद्धता मन्तव्य राखेका थिए ।
