एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौं, १९ पौष–राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विरोध जनाएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

बिहान कुनै सहमति नजुटेपछि आजै बेलुका फेरि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त बैठक बस्ने एक नेताले बताए ।

बैठकमा सहभागी एक नेताले भने, ‘आजको बैठकमा एमालेलाई पनि सिट बाँडफाँट गर्ने कुरा सैद्धान्तिक रुपमा पनि रणनीतिक रुपमा पनि गलत छ भनेर माधव नेपाल कडा रुपमा प्रस्तुत हुनुभयो, त्यसपछि साँझ फेरि एमालेसँग छलफल गर्ने भनेर बैठक स्थगित भयो ।’

बुधबारको बैठकमा नेकपा एमालेका अध्यक्ष ओलीले राष्ट्रिय सभामा केही सिटमा भाग खोजेका थिए । प्रधानमन्त्री प्रचण्डले, ओलीले आफूहरुलाई राष्ट्रिय सभामा शून्य नबनाउन भनेको बैठकका सहभागीहरुलाई सुनाएका थिए । एमालेले प्रस्ताव ल्याएपछि त्यसमा छलफल गर्ने र सिट बाँडफाँटको टुंगो लगाउने भन्दै बैठक बिहीबार बिहानसम्मका लागि स्थगित भएको थियो ।

यद्यपि बिहीबार बिहानको बैठकमा शीर्ष नेताहरुले कुन(कुन दललाई कति(कति सिट भाग लगाउने भन्ने विषय सार्वजनिक गरेनन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *