दमक, १७ माघ–दमकमा औद्योगिक व्यापार, कृषि, साँस्कृतिक, एबम् पर्यटन प्रबद्र्धनमा सहयोग जुटाउने उदेश्यले दमक उद्योग बाणिज्य संघले पाँचौ दमक महोत्सव सञ्चालन गर्ने भएको छ । माघ २८ गतेदेखि फागुन १२ गतेसम्म सञ्चालन हुन लागेको दमक महोत्सवको तयारी र उदेश्यसहित दमक उद्योग बाणिज्य संघले आज (बुधबार) दमकमा पत्रकार सम्मेलन गरेको छ ।

दमक उद्योग बाणिज्य संघले आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गरेर माघ २८ गतेदेखि फागुन १२ गतेसम्म प्रादेशिक औद्योगिक व्यापार, कृषि एबम् पर्यटन प्रबद्र्धन गर्न दमक महोत्सव सञ्चालन गर्न लागिएको जानकारी गरायो । संघका अध्यक्ष देबि बहादुर (गोपाल) गुरागाईका अनुसार दमक–७ सयपत्री टोलको रतुवा किनारमा महोत्सव सञ्चालन हुने भएको छ । अध्यक्ष गुरागाईले महोत्सवमा रु ५ करोड बराबरको अनुमानित कारोवार हुनुका साथैं एक लाख अवोलकनकर्ताहरुले सहभागिता जनाउने लक्ष्य राखिएको बताए ।

यसअघि, दमक उद्योग बाणिज्य संघले २०६२, २०६५, २०६६ र २०७४ सालमा महोत्सव सञ्चालन गरेको थियो । पछिल्ला महोत्सव यता संघले बिश्वमा महामारीको रुपमा फैलिएको कोभिड लगायत रोग तथा संक्रमणका कारणले महोत्सवलाई निरन्तरता दिन नसकिएको अध्यक्ष गुरागाईले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार ६ वर्षपछि दमकमा उद्योग बाणिज्य संघले महोत्सवलाई निरन्तरता दिन लागिएको हो ।

अध्यक्ष गुरागाईले भने, –‘स्थानीय उद्योग, व्यापार, व्यवसायको प्रवद्र्धनमा यस्ता महोत्सव उपयोगी माध्यम भएकाले पनि यो महोत्सव लक्ष्य अनुरुप सफल हुनेमा हामी विश्वस्त छौ ’ महोत्सवमा औद्योगिक व्यापार,पर्यटन, प्रवद्र्धन एवं कृषि उपजको प्रर्दशनी हुने छ । महोत्सव सफल बनाउन संघले वरिष्ठ उपाध्यक्ष राजु खड्काको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गर्नुका साथै एक दर्जन बढी विभिन्न तयारी उपसमितिहरु समेत गठन गरिएको जनाईएको छ ।

यसैगरि, संघका पूर्व अध्यक्षहरु सम्मिलित ९ सदस्यीय स्टेयरिङ (निर्देशन) कमिटी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरु सम्मिलित सल्लाहकार समिति समेत गठन गरिएको अध्यक्ष गुरागाईले जानकारी दिए ।

महोत्सव सफल बनाउन दमक चौंकको आकासे पुल र गणतन्त्र चौकमा प्रचारात्मक तुल, व्यानार राखिएको उनले बताए । संघले कार्यसमिति सदस्य तुलसीराम तिम्सिनाको संयोजकत्वमा प्रचार–प्रसार, रुवल अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, टिकाराम खतिवडाको संयोजकत्वमा स्टल व्यवस्थापन, ज्ञाननाथ पौडेलको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम सञ्चालन उपसमिति, उमेश गजमेरको संयोजकत्वमा स्वमसेवक व्यवस्थापन, विवेक श्रेष्ठको संयोजकत्वमा उद्घाटन तथा समापन कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

त्यसैगरि, शुष्मा निरौलाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, हेमसागर अधिकारीको संयोजकत्वमा निर्माण, विद्युत, खानेपानी तथा सरसफाई व्यवस्थापन उपसमिति, भेनस श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य उपसमिति, सन्तोष साहको संयोजकत्वमा गेट निर्माण उपसमिति र कमल कटुवालको संयोजकत्वमा संघ–संस्था समन्वय उपसमिति समेत गठन गरि काम धमाधम भईरहेको अध्यक्ष गुरागाईले पत्रकार सम्मेलनमा बताए ।

महोत्सवमा अनुमानित आम्दानीतर्फ रु १ करोड ३ लाख ५० हजार र त्यसमा कार्यक्रमका लागि रु ९८ लाख खर्च हुने अनुमानित गरिएको संघले जनाएको छ । खर्च मध्ये संघले यस महोत्सवबाट ५ लाख ५० हजार बचत गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरागाईको भनाई छ । महोत्सवको बचत रकम दमक–७ मा निर्माणाधिन इलम प्रशिक्ष्ण केन्द्रमा खर्च गरिने उल्लेख छ । सो प्रशिक्षण भवन मर्मत तथा निर्माणपछि विभन्न प्रकारका तालिम तथा गोष्ठीहरु सञ्चालन गरिने संघका अध्यक्ष गुरागाईले बताए ।

पत्रकार सम्मेलनमा दमक उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष तथा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक राजु खड्का, उपाध्यक्ष तथा साँस्कृतिक कार्यक्रम उपसमितिका संयोजक ज्ञाननाथ पौडेल, उपाध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक रुवल अधिकारी लगायत कार्यसमिति सदस्यहरुको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *