काठमाडौं, १० फागुन–इंग्लिस प्रिमियर लिग लिडर लिभरपुलले लुटन टाउनलाई पराजित गर्दै शीर्ष स्थान बलियो बनाएको छ।

गएराति एनफिल्डमा लुटन टाउनविरूद्ध ४ गोल प्रहार गर्दै लिभरपुलले अंक तालिकाको शीर्ष स्थानमा आफूलाई पुनः सुरक्षित गरेको हो।

लिभरपुलको जितमा भर्जिल भान डाइक, कोडी गाक्पो, लुइस डियाज र हार्भे इलिअटले गोल गरेका थिए। लिभरपुलले चारै गोल दोस्रो हाफमा गरेको हो।

घरेलु मैदानमा पहिलो हाफमा लिभरपुल १ गोलले पछि परेको थियो। १२ औं मिनेटमा लुटन टाउनका चिदोजी अग्बेनेले गोल गरेका थिए।

दोस्रो हाफमा लुटन टाउनमाथि हाबी हुँदा लिभरपुल ४-१ गोलले विजयी भएको हो।

जितसँगै दोस्रो स्थानको म्यानचेष्टर सिटीसँग ४ अंकको दूरी बनाउँदै लिभरपुल शीर्षस्थानमा छ।

लिभरपुलले २६ खेलबाट ६० अंक जोड्दा दोस्रो स्थानको सिटीको ५६ अंक छ।

एक खेल कम खेलेको सिटी २६ औं खेल जित्दा पनि लिभरपुलको भन्दा १ अंक कम हुनेछ। तेस्रो स्थानको आर्सनलले पनि २५ खेलबाट ५५ अंक जोडेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *