कनकाई, १४ फागुन । सरकारले यतिबेला बालबालिकालाई दिइने दादुरा–रुवेला विरुद्धको खोप अभियान शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुवेलाको जोखिम रहेका झापा जिल्लासहित ५१ वटा जिल्लामा खोप अभियान जारी छ ।
यसैबीच, खोप अभियान सफल पार्न झापाको कनकाई नगरपालिका पनि लागिपरेको छ । अहिले नगरका नौ वटै वडामा दादुरा रुबेला खोप अभियान २०८० सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ। सर्वसाधारणलाई सो रोग सबन्धी जनचेतना जगाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।आज एकैदिन छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी वडा नं १ र ७ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कनकाई वडा नं १ स्थित प्राथमिक स्वास्थ्य केन्द्र दुर्गापुरमा आयोजित कार्यक्रममा वडा नं १ का अध्यक्ष सुशीलकुमार पोखरेलको सभापतित्त्वमा आयोजित कार्यक्रममा नगर स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र दंगालले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नगर स्वास्थ्य प्रमुख खोप नलाउँदाको हानी–नोक्सानी, खोपबाट बञ्चित हुँदाको असर, खोपपछिको फाइदा लगायतका बारेमा सहभागीलाई जानकारी गराउनुभएको थियो । उहाँले खोपको सही सदुपयोग गरी सबै नानीबाबूहरुलाई खोप लगाउन सहजीकरण गरिदिन सबै विद्यालयका शिक्षकलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्यहरु हरिकुमार राई, निर्मला खड्का, दलबहादुर थापा, वडा सचिव कमला विश्वकर्मा, वडा नं १ मा रहेका विद्यालयका प्रधानध्यापक तथा शिक्षक प्रतिनिधि स्वास्थ्यकर्मी, स्वयम्सेविका, जनप्रतिनिधि, टोल संयोजक लगायतलाई अभिमुखीकरण दिएको थियो ।
नगर स्वास्थ्य शाखाकी कर्मचारी टीका दवाडीले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाकी कर्मचारी कोपिला अधिकारी दुलालले गर्नुभएको थियो ।
त्यसैगरी, यसअघि आज नै वडा न ७ मा पनि अभियान २०८० सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। वडा न ७ स्थित आधारभूत स्वास्थ्य केन्द्रको भवनमा आयोजित कार्यक्रममा कनकाई स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले नै सहजीकरण गर्नुभएको थियोे । वडाध्यक्ष भीष्म भूषण सिटौला को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय संघसंस्था का प्रतिनिधि र स्थानीयवासीको उपस्थिती रहेको थियो ।
अभियान अन्तरगत ९ महिनादेखि १५ वर्ष मुनिका ५७ लाख बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको खोप शाखाले जनाएको छ । पछिल्लो वर्ष दादुराको महामारी विभिन्न जिल्लाहरूमा फैलिएको हुँदा खोप अभियान सन्चालन गर्न लागेको महाशाखाले जनाएको छ। सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो ।
गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिँदा एक हजार तीन सय ४९ जना सङ्क्रमित भएका थिए । खोप अभियान ७ चैतसम्म सञ्चालन हुनेछ ।
