दमक, १५ फागुन–झापाको दमक नगरपालिका स्वास्थ्य शाखाले राष्ट्रिय खोप अभियान अन्तर्गत दमकमा यहि फागुन २१ देखि ४ चैतसम्म ९ महिनादेखि १५ वर्षसम्मका ३६ हजार बालबालिकाहरुलाई दादुरा–रुवेला खोप अभियान सञ्चालन गरिने भएको छ ।
दमक नगरस्तरिय खोप समन्वय समितिले मंगलवार नगरपालिकाको सभाहलमा सरोकारवालाहरुसंगको अन्तरकृया कार्यक्रममा दमकमा सञ्चालन हुने खोप अभियान सञ्चालनको तयारीका बारेमा जानकारी दिएको हो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्कोटीले खोप अभियान कार्यक्रम अन्तर्गत सन् २०२६ सम्ममा दादुरा–रुवेला रोग निवारण गर्ने लक्ष्यका साथ यसवर्ष पनि यहि फागुन १७ गतेदेखि चैत ४ गतेसम्म जिल्लाव्यापी रुपमा ९ महिनादेखि माथिका १५ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा–रुवेला खोप लगाउने कार्य भईरहेको जनाए । जिल्लाका १५ वटै पालिकामा सो खोपको तयारी तीव्र पारिएको उनले बताए ।
दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले दमकमा सो खोप अभियान अन्तर्गत करिव ३६ हजार बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ ।
दमकका १० वटै वडाभित्रका बालबच्चाहरुको घरघर, स्वास्थ्य केन्द्र, स्कूल, टोलटोलमा पुगेर दादुरा, रुबेलाको खोप लगाउन चिकित्सक, स्वास्थ्यकर्मी तथा महिला स्वमसेविकाहरुलाई परिचालित हुने उनले बताए ।
खोप अभियान सफल बनाउन वडास्तरसम्म सरोकारवालाहरुसंग अन्तरकृया समेत गरिने उनले बताए । दमक नगरस्तरिय खोप समन्वय समितिका अध्यक्ष समेत रहेका दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा दमकका वडाअध्यक्षहरु, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
