दमक, १६ फागुन–झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । दादुरा–रुबेला खोप अभियानअन्तर्गत जिल्लामा यही फागुन १७ गतेदेखि चैत ४ गतेसम्म नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने भएको हो ।
स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोडमा दादुरा–रुबेला खोप अभियानका बारेमा सञ्चारकर्मीसँग अभिमुखीकरण गोष्ठीसमेत गरेको छ । स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले झापामा खोप लगाउने दर उच्च भए पनि दादुरा–रुबेलाको जोखिम कायमै रहेकाले अभियान सञ्चालन हुन लागेको बताए ।
“सङ्क्रमण दर धेरै भएकाले एक जनामा पनि दादुरा देखिनु खतरा हो,” उनले भने, “जिल्लामा व्यापकरूपमा खोप अभियान चलाइएको हो ।”
जिल्लाव्यापी खोप अभियानका लागि यहाँ स्वास्थ्य संस्थाबाहेक नौ सय ४७ खोप केन्द्र निधारण गरिएका छन् । अभियानमा तीन ६९ खोपकर्मी र एक हजार सात सय १७ स्वास्थ्य स्वयंसेविका परिचालन गरिने कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिए । खोप अभियान सञ्चालन गर्न दुई लाख ७० हजार थान खोपको व्यवस्था गरिएको छ ।
अभिमुखीकरण गोष्ठीमा विश्व स्वास्थ्य सङ्गठनकी डा।सङ्गीता शाहले ज्वरो आएको बेलामा खोप लगाउन नमिल्ने भए पनि ज्वरो निको भएपछि खोप लगाउन सकिने बताए । “बालबालिकामा इम्युनिटी पावर कम भएका बेलाबाहेक अरू बेला खोप लगाउन सकिन्छ,” उनले भने ।
झापामा सन् २०१९ र२०२३ मा अभियान सफल भएकाले पुनः खोप अभियान सञ्चालन गरिएको हो । सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला उन्मुलन गर्ने लक्ष्य लिएको छ । झापामा सन् २०२४ को जनवरीमा आठ बालबालिकामा दादुराको सङ्क्रमण देखिएको थियो । झापा गाउँपालिकामा ६ जना तथा बिर्तामोड र दमक नगरपालिकामा एक÷एक जनामा सङ्क्रमण देखिएको खोप अधिकृत पोखरेलले बताए।
अभिमुखीकरण गोष्ठीमा पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले खोप अभियानलाई तल्लो तहसम्म पुर्याउनुपर्नेमा जोड दिँदै सञ्चारकर्मीले समेत अभियान सफल बनाउन लाग्नुपर्ने बताए । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जिल्लामा खोप अभियानबारे भइरहेको गतिविधि र वर्तमान अवस्थाका बारेमा सहभागीलाई जानकारी दिएका थिए ।
