काठमाडौँ, २२ फागुन—प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको नयाँ गठबन्धनमा सहभागी हुन आग्रहलाई नेकपा (एकीकृत समाजवादी) ले सकारात्मक रुपमा लिएको जनाएको छ ।
बैठकपछि नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले ओली र दाहालको सहकार्यको प्रस्तावलाई सकारात्मक रुपमा लिएको जानकारी दिए ।
‘हामीले नयाँ गठबन्धनको सहकार्यको स्पिरिडलाई मोटो रुपमा सकारात्मक रुपमा लिएका छौ,’ उनको भनाइ थियो, ‘यसबारे हामी बुधबार सचिवालय बैठकले निर्णय लिनेछौं ।’ उनले मुलुकलाई स्थायित्वतिर लैजान सहकार्य जरुरी भए पनि त्यसको आधार तयार गर्नु महत्वपूर्ण कुरा भएको बताए ।
नेपालसँग संवादपछि बाहिरिने क्रममा ओलीले छलफल सकारात्मक भएको संकेत गरे ।
ओली र दाहालसहित नेताहरु सहकार्यको प्रस्ताव लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वर गएका थिए ।
बालुवाटारमा जारी बैठक स्थगित गरी कोटेश्वर वार्ता गर्न पुगेका थिए ।
एकीकृत समाजवादीले नयाँ गठबधनप्रति गुण र दोषका आधारमा निर्णय लिने निष्कर्ष निकालिसकेको छ । प्रधानमन्त्री दाहालले नयाँ समीकरण बनाउनुअघि एकीकृत समाजवादीसँग छलफल गरेका थिएनन् ।
