महामन्त्री विश्वप्रकाश शर्मा

झापा, २८ फागुन–नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनको पछिल्लो शृङ्खलालाई ठूलो विषय नभई संसदमा भएको केही गडबड र गज्याङगुजुङको संज्ञा दिएका छन् ।

‘सरकार बदलिन्छ, बदलिन दिनुस्’, सोमबार गृहनगर धुलाबारीमा आयोजित एक कार्यक्रममा शर्माले भने, ‘समाजमा व्यापक निरासा छ, साझा मञ्चमा उभिएर यो निरासा हटाउनु सक्नु चाहिँ मुलुकको आवश्यकता हो।’ महामन्त्री शर्माले राजनीतिक दलमा कायम शंकाउपशंका र अविश्वास त्याग्नु पर्नेमा जोड दिए ।

‘संसदमा केही गडबड र गज्याङगुजुङ भएको छ, त्यसकै कारण सरकार परिवर्तन भएको हो, ठूलो हलचल, नौलो र आश्चर्यजनक कुरा केही भएको होइन’, उनले भने, ‘यसमा अल्मलिएर समय बर्बाद गर्ने छुट कसैलाई छैन, राजनीतिक दलमा रहेको आशंका र अविश्वास त्यागेर मुलुक बनाउन लाग्नुपर्छ ।’

मुलुक विकास साझा दायित्व भएकाले त्यसका लागि साझा संकल्प जरुरी भएको बताए। उनले जनप्रतिनिधिले गोजीको पैसा हालेर विकास गर्ने नभई बजेट र कामको संयोजन मात्रै गर्ने भएकाले आपसमा मिलेर अघि बढ्नु पर्ने धारणा राखे।

उनले मिसन ८४ को कुरा गर्नुको कुनै अर्थ नभएको बताए । उनले भने, मैले निरासाजनक कुरा गरेको होइन, ८४ सालसम्म मरिन्छ कि बाँचिन्छ, मिसन ८४ अर्थहीन र भावनाको लहड मात्रै हो।]

व्यस्त कार्यक्रमका बीच झापा आएका शर्मा धुलाबारी खानेपानीको २३ औँ वार्षिकसभा र छैठौं झापा गोल्डकपको समापनमा सहभागी भएर साँझ काठमाडौँ फर्कने बताएर उनले मुलुकको बदलिँदो राजनीति घटना क्रमका बारेमा थप टिप्पणी गरेनन् ।

झापा १ का सांसद समेत रहेका शर्माले आफूलाई सिंहदरबारको संसद नभई स्थानीयबासी सम्झेर विकास निर्माणका काममा निरन्तर घच्घच्याउन क्षेत्रबासीसँग आग्रह गरे। म सिंहदरबारको सांसद हुँ तर त्योभन्दा वडाबासी र क्षेत्रबासी हुँ, यहाँका समस्या सबै मिलेर समाधान गर्नु पर्छ।’

कोशी प्रदेश सांसद गोपाल तामाङ, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले धारणा राखेको कार्यक्रममा शर्माले भने, ‘समग्र विकासका लागि सामुहिक रुपले अघि बढ्नु पर्छ, स्थानीय, प्रदेश र संघीय सरकारले मिलेर काम गर्नु पर्छ, अर्को विकल्पै छैन ।’

उपभोक्ता दुर्गादेवी खतिवडा र चन्द्र भण्डारीले धारणा राखेको कार्यक्रममा खानेपानीका पूर्वअध्यक्ष राम कट्टेल, अध्यक्ष धनकाजी खत्री, उपाध्यक्ष हिमालय आङ्देम्बे, सचिव उमेश सुवेदीले धुलाबारी खानेपानीको विगतको संघर्ष, वर्तमानको अवस्था र भावी कार्यक्रमका बारेमा स्पष्ट पारेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *