दमक, ३० फागुन–नेपाली चलचित्र ‘महाजात्रा’ चैत्र ९ गतेदेखि देशव्यापी रुपमा एकसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्र महाजात्राको टोली बुधबार झापाको दमक आइपुगेको छ । महाजात्राको प्रमोशनका लागि चर्चित हाँस्यव्यङग्य कलाकार हरिवंश आचार्यसहित अन्य कलाकारहरुको टोली दमक आइपुगेको हो ।
महाजात्राका कलाकार हरिवंश आचार्यले यो चलचित्र नेपाली राजनीतिक दलका नेताहरुलाई नभएर आम जनतालाई सुसुचित गर्नका लागि सहयोगी हुने विश्वास व्यक्त गरे । आचार्यले चलचित्र महजात्राले देशका विभिन्न जात्राहरुलाई एकत्रित गरेर महाजात्राका रुपमा उतार्न खोजेको र यसले आम नागरिकमा चेतना भर्न मद्धत पुरयाउने उल्लेख गरे ।
हँसाई–हँसाई मनोरञ्जनसाथ यसले जनतालाई सुधार्न योगदान दिनेछ चलचित्रका बारेमा चैत ९ पछिनै दर्शकहरुले बोल्नुहुन्छ । जवरजस्त चलचित्र राम्रो भनेर हिंडनु पर्ने अवस्था हुनेछैन–आचार्यले भने ।
केही अगाडि सामाजिक कथामा निर्माण भएको ‘महापुरुष’मा एकल पुरुषको भूमिकामा देखिएका हरिवंश आचार्य महाजात्रामा भने भर्सटाइल अभिनेताका रुपमा आउँदैछन ।
‘महाजात्रा’मा आचार्यले भ्रष्ट नेताको भूमिका निर्वाह गरेका छन् । नेगेटिभ भूमिका भए पनि पोजेटिभ सन्देश दिने भएकाले आफूले अभिनय गरेको उनले बताउँदै आएका छन ।
यो चलचित्रमा आचार्यसँगै विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, रवीन्द्र सिंह बनिया लगायतको अभिनय रहेको छ । चलचित्र निर्माणमा साढे ३ करोड रुपैयाँ नगद लगानी भएको चलचित्रको निर्माण पक्षले जनाएको छ ।
