काठमाण्डौं, १३ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढिरहेको बताउनु भएको छ।
एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको १०औँ अधिवेशनबाट नवनिर्वाचित कमिटीको पदस्थापन कार्यक्रममा बोल्दै उहाँले स्वच्छ छवि र भ्रष्टाचारमुक्त भएर जनताको सेवामा कसरी काम गर्ने भन्ने विषयमा केन्द्रित भएर अगाडि बढेको बताउनु भयो।
नेपालको कम्युनिस्ट पार्टी एकताबद्ध हुन आवश्यक रहेको बताउँदै उहाँले परिस्थिति अनुकूल र सबैमा त्यही ढङ्गको सोच र विकास हुन आवश्यक रहेको बताउनु भयो।
सोमबार बिहान मात्रै एमाले अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीबाट आफूबिच भेट भएर आपसी सम्बन्धको बारेमा छलफल भएको र त्यसले उपनिर्वाचनको विषयसमेतमा छलफल गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा सल्लाह भएको उहाँको भनाई छ।
पार्टीका केन्द्रीय उपमहासचिव डा।गङ्गालाल तुलाधरले जनताको घर–घरमा पुगेर पार्टीको बारेमा प्रचार गर्न र पार्टी निर्माणको काममा जुट्न निर्देशन दिनुभयो। त्यसका लागि जिल्लाका सबै पालिकामा सन्देश सभाको आयोजना गरेर अगाडि बढ्न उहाँले निर्देशन दिनुभयो।
त्यस्तै पार्टीका बागमती प्रदेश कमिटीका अध्यक्ष सावित्रा भुसालले निर्वाचित पदाधिकारी र सदस्यले आफूले प्राप्त गरेको जिम्मेवारीलाई पूर्णरुपमा निर्वाह गर्दै पार्टी कमिटी मजबुद बनाउने अभियानमा लाग्न आग्रह गर्नुभयो।
पार्टीको १०औँ जिल्ला अधिवेशनबाट बसुन्धरा हुमागाईंको अध्यक्षतामा उपाध्यक्षद्वय रघुवर चौप्रधान र पासाङ डोल्मो लामा, सचिवमा गोकुल गौतम र उपसचिवमा हरिगोपाल प्रधानाङ्ग, कृष्णबहादुर तामाङ र भेषराज शाहलगायत भूगोल, खुला, अल्प सङ्ख्यक, दलित र अपाङ्गतातर्फ गरी ५७ सदस्यीय समिति निर्वाचित भएको थियो।

