दमक, १४ चैत–इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा दलहरू एक्लाएक्लै लड्ने तयारीमा छन्। सत्ता गठबन्धनबीच सहकार्यको प्रयास विफल भएपछि दलहरू एक्लाएक्लै निर्वाचनमा लड्ने तयारी गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) ले पनि उम्मेदवारी दिने निर्णय गरेको छ। यता, सत्तारूढ नेकपा (एकीकृत समाजवादी) ले पनि उम्मेदवार तय गरेको छ। एकीकृत समाजवादीले इलाम–२ मा जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय आज (बुधबार) बिहानको पदाधिकारीको बैठकले गरेको हो।
सत्ताघटक नेकपा (एमाले) ले उम्मेदवारी घोषणा यसअघि नै गरिसकेको छ। एमालेले पार्टीका कानुन विभाग सदस्य सुहाङ नेम्वाङलाई इलाम २ को उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी दिवंगत सुवास नेम्वाङका छोरा हुन्।
इलाम २ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्म, ११ र १२ र माई नगरपालिकाको वडा नम्बर ६ देखि ८ वडासम्म समेटिएका छन्।

